के गगनको हुंकारले कांग्रेसमा सुनामी ल्याउँला ?

शनिबार, २० मंसिर २०८२

डेढ महिनाको रस्साकसीपछि नेपाली कांग्रेसको केन्द्रीय समितिले अन्ततः महाधिवेशनतर्फ जाने निर्णय गरेको छ। निर्णय किन ढिलो भयो भन्ने विषय अब फर्केर हेर्ने अवस्था छैन । तर अब के हुन्छ भन्ने अनिश्चितता र जिज्ञासा भने पार्टीभित्रका सबै नेता, शुभेच्छुक र कार्यकर्तामा गहिरो रूपमा उब्जिएको छ। ढिलाइपछि आएको निर्णय, मौजुदा केन्द्रीय समितिको म्याद माघ मसान्तसम्म थपिनु, पार्टीभित्र बढ्दो आन्तरिक मतभेद, विशेष महाधिवेशनको माग ज्यूँका त्यूँ रहनु, शेरबहादुर देउवाको पुनः सक्रिय भूमिका, साथै केही पूर्वपदाधिकारीले ‘यदि पुसभित्र महाधिवेशन नभए वैशाखमा मात्रै सम्भव हुन्छ’ भनेका अभिव्यक्तिले कतै महाधिवेशन नै नहुने हो कि भन्ने शंका अझै हटेको छैन।

यही सन्दर्भमा, यो लेखले ‘के साँच्चै महाधिवेशन हुन्छ?’, ‘सभापतिमा कसको पल्ला भारी होला?’, ‘के देउवाले अन्तिम क्षणसम्म पुर्णबहादुरलाई साथ दिनेछन्?’, ‘शेखर–गगन एक हुने सम्भावना कति छ?’, ‘सात भाइ समूहको भूमिका के हुने?’ जस्ता प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेको छ।

महाधिवेशनको तिथि–मिति घोषणा भइसकेको हुँदा अब स्थगित हुने सम्भावना अत्यन्त न्यून छ। बदलिँदो राष्ट्रिय राजनीतिक परिवेश, विशेष महाधिवेशनको चुनौती, देउवाको सम्मानजनक बहिर्गमनका लागि पनि महाधिवेशन आवश्यक छ भन्ने उनको ‘किचेन क्याबिनेट’को आकलन, महाधिवेशन नहुँदा आन्तरिक विद्रोह वा पार्टी फुटको जोखिम, वैकल्पिक लाइन अस्पष्ट रहने खतरा—यी सबै कारणले देउवा स्वयं पनि महाधिवेशन टार्ने मनस्थितिमा देखिँदैनन्।

तत्कालका परिदृश्यमा तीन जना प्रमुख सभापति–दाबेदार स्पष्ट देखिन्छन्—(१) कार्यवाहक सभापति पुर्णबहादुर खड्का, (२) डा. शेखर कोइराला, (३) युवा नेता गगन थापा।

नेपाली कांग्रेसको अहिलेको शक्ति–सन्तुलन हेर्दा पुर्णबहादुर खड्का सबैभन्दा बलिया उम्मेदवारको रूपमा देखिन्छन्। देउवा समूहका ‘प्राकृतिक उत्तराधिकारी’का रूपमा चार–पाँच दशकदेखि पार्टी संरचनाको केन्द्रमा रहँदै आएका उनी, शालीन, भद्र, व्यवहारिक र कूटनीतिक छविका नेता हुन्। धेरै नेतासँग राम्रो सम्बन्ध, कसैलाई कठोर शत्रु नबनाउने क्षमता, सात भाइ समूहसँग सकारात्मक तालमेल, साथै कर्णाली–सुदूरपश्चिममा मजबूत पकड—यी सबैले उनलाई अग्रस्थानमा राख्छन्।

खड्काको सफलताका लागि देउवा ‘दाहिने’ हुनु अत्यन्त महत्वपूर्ण छ। हालसम्म देउवाले उनलाई साथ दिने संकेत प्रबल छ। दीर्घकालीन नेतृत्वको अन्त्यमा देउवालाई भरपर्दो उत्तराधिकारी चाहिएको छ र त्यो पात्र उनका नजरमा खड्का नै हुन्। गगन–विश्वप्रकाशको उदय रोक्न पनि देउवालाई खड्का उपयुक्त विकल्प देखिन सक्छन्। तर देउवाको ‘क्याल्कुलेटेड सर्प्राइज’ प्रवृत्तिले अन्तिम घडीमा समीकरण बदलिन सक्ने सम्भावना सधैँ रहन्छ—जो खड्काका लागि चुनौती बन्न सक्छ। साथै युवा समूह (गगन–विश्वप्रकाश)सँग देउवाले रणनीतिक गठबन्धन गर्ने विकल्प पनि खुला छ। त्यसमाथि, देउवा सरकारसँग जोडिएको ‘जस–गुन’को भार खड्काको लोकप्रियतामा केही असर पार्न सक्ने सम्भावना पनि छ।

शेखर कोइराला १४औँ महाधिवेशनका निकटतम प्रतिस्पर्धी र कोइराला परिवार–लिगेसीका उत्तराधिकारी हुन्। कोइराला परिवारप्रतिको संरचनागत निष्ठा अझै समाप्त नभएकोले उनीसँग ठोस् आधार छ। गगन–शेखरको वैचारिक समानताका आधारमा दुवैबीच गठबन्धन भए ‘पावर–सेयरिङ’का हिसाबले शेखरको पल्ला भारी हुनसक्छ—जसको तर्क विशेष महाधिवेशन पक्षले निरन्तर गर्दै आएको छ। बाम–विरोधी धार, देउवा नेतृत्वप्रतिको असन्तुष्ट मत तान्ने क्षमता—यी उनको बल हुन्। तर उनका कडा स्वभाव, सबैसँग लचिलो सम्बन्ध नहुनु, देउवा समूह तथा सात भाइ समूहको मत सहजै नआउने सम्भावनाले एक्लै उठेमा उनी अपेक्षाकृत कमजोर देखिन्छन्।

गगन थापा अहिलेका सबैभन्दा लोकप्रिय नेतामध्ये एक हुन्—युवा पुस्ता, शहरी मतदाता र सञ्चार माध्यम सबैमा उनीप्रति उच्च आकर्षण छ। तर पार्टी नेतृत्व लोकप्रियताभन्दा संगठनात्मक संरचनामा टेकेको हुन्छ, र त्यही पक्षमा गगन कमजोर छन्। धेरै जिल्लामा परम्परागत समूह उनीतर्फ खुलेका छैनन्। स्पष्ट वक्तृत्व, भ्रष्टाचारविरोधी छवि, ‘नयाँ कांग्रेस’को एजेन्डा—यी उनका मुख्य बल हुन्। तर यस लोकप्रियताले महाधिवेशनमा कति भोटमा रूपान्तरण हुन्छ भन्ने खुला प्रश्न छ। हार्ने जोखिम नलिन अन्ततः गगनले शेखर वा पुर्णबहादुरसँग ‘पावर–सेयरिङ’मा जाने सम्भावना पनि समान रूपले विद्यमान छ।

सात भाइ समूह बौद्धिक, संसदीय, अनुभवयुक्त र निर्णायक शक्ति हो। कांग्रेसमा सभापति–निर्वाचन कहिल्यै ‘एकल शक्ति’ले जितिँदैन; शक्ति–सन्तुलनको केन्द्र सधैँ सात भाइ नै रहँदै आएको इतिहास छ। उनीहरू देउवाका निकट छन्, तर अन्धाधुन्ध होइनन्। हरेक सदस्यको व्यक्तिगत राजनीतिक स्वार्थ भएकाले देउवा–खड्का, शेखर–गगन वा अन्य संयोजन कुन दिशातर्फ जान्छ—त्यसलाई हेर्ने र प्रतीक्षा गर्ने अवस्थामै उनीहरू छन्। खड्काको संगठनात्मक शैली र कूटनीति अहिलेका लागि उनीहरूलाई सबैभन्दा सहज र सुरक्षित विकल्प देखिन्छ।

नेपाली कांग्रेसले महाधिवेशनतर्फ जाने औपचारिक निर्णयसँगै पार्टीभित्रको आन्तरिक द्वन्द्व, शक्ति–सन्तुलन, देउवा–पुर्णबहादुर सम्बन्ध, शेखर–गगन सम्भावित गठबन्धन, र सात भाइ समूहको भूमिका—यी सबैले आगामी सभापति प्रतिस्पर्धालाई जटिल र अत्यन्त अनिश्चित बनाइरहेका छन्।