काठमाडौँ उपत्यकाका सबै नदीहरुमा सफा पानि बगाउन कुलमानले चाले नयाँ कदम

शनिबार, २० मंसिर २०८२

काठमाडौँ – सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाका नदी सफा गर्न धेरै फोहोर पानी प्रशोधन प्लान्ट बनाउने तयारी रहेको बताए।
थापाथलीस्थित बागमती करिडोरमा निर्माणाधीन फोहोर पानी प्रशोधन प्लान्टको निरीक्षण गर्दै उनले एडीबीको लगानी र रुख कटानीमा ढिलाइ भएको स्वीकार गरे।
मन्त्रीका अनुसार, टुकुचाको ढल सफा गरी पानी बागमतीमा फाल्ने योजना छ, र काठमाडौं र ललितपुरमा प्लान्ट निर्माण हुँदैछ।
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाभित्रका नदीहरुलाई सफा गर्न धेरै फोहोर पानी प्रशोधन प्लान्ट बनाउने तयारी गरिररहेको बताएका छन् । थापाथलिस्थित बागमती करिडोरमा निर्माणाधीन फोहोर पानी प्रशोधन प्लान्टको शनिबार निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीहरुलाई सफा गर्नको लागि धेरै प्रशोधन प्लान्ट आवश्यक पर्ने बताए । सबै नदी सफा गर्नको लागि प्रतिदिन ६ सय एमएलडीको प्लान्ट चाहिने उनले जानकारी दिए । उनका अनुसार हाल उपत्यकामा निर्माणधिन प्लान्टहरु यसको २० प्रतिशत मात्रै भएको बताए । उनले बागमती नदी सफा गर्नको लागि गुह्येश्वरीमा प्लान्ट बनेको र अन्य केही ठाउँहरुमा पनि बन्ने क्रममा रहेको जानकारी दिए ।

थापाथली करिडोरमा बनेको प्लान्टले टुकुचाको ढललाई सफा गरेर पानीलाई बागमतीमा फाल्ने उनको भनाइ छ । उनले एडीबीको ३ अर्ब १८ करोड लगानीमा प्लान्ट निर्माणको काम भइरहेको जानकारी दिए । प्लान्ट निर्माणमा केही ढिलाई भएको उनले स्वीकार गरे । रुख कटानीमा ढिलाई र लालितपुरतर्फ पर्ने भूभागमा स्थानीयको विरोधले काम रोकिँदा ओभरल प्राजेक्टमा नै केही ढिलाई हुने देखिएको उनको भनाइ छ ।

विवाद समाधान गर्न आवश्यक छलफल गर्ने उनले जानकारी दिए । उनले काठमाडौंतिर बन्ने संरचनाहरु भने करिब डेढ वर्षभित्र सम्पन्न हुने बताए । प्लान्टको संरचना काठमाडौँ महानगर र ललितपुरमहानगरमा बन्न लागेको छ ।

उनले भने, ‘वेस्ट वाटर ट्रिटमेण्ट प्लान्टले टुकुचाको सम्पूर्ण ढल सिष्टमलाई सफा गर्छ र पानीलाई वागमतीमा फाल्छ । एडीबीको सहयोगमा काम भइरहेको छ । दुई वटा कारणले अलिकति ढिलो भएको छ, यो । एउटा रुख कटानीमा डेढदुई वर्ष लाग्यो, यो क्षेत्रमा साईट क्लिरियन्स गर्न । यसको कही पार्ट ललितपुर महानगरपालिका पट्टी पर्छ, त्यो पार्टमा स्थानीयको विरोध भएको हुनाले काम गर्न सकिएको छैन । पारीपट्टीको काम रोकिँदा ओभरल प्राजेक्टमा नै केही ढिलाई हुने देखिन्छ । यसलाई हामीले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गरेर अगाडी बढाउँछौँ ।’

उनले भने, ‘यता बनिरहेको स्टक्चरहरु चाहीँ करिव करिब एक डेढ वर्षभित्र सम्पन्न हुने देखिन्छ । यस्तै ट्रिटमेन्ट प्लान्टहरु हामीले धेरै ठाउँमा बनाउने योजना गरेका छौँ । यसले बाग्मतीलाई सफा गर्छ । फोहोर बागमती सफा देखाउनको लागि ट्रिटमेण्ट प्लान्टहरु बनाउनपर्छ । गुह्येश्वरीमा बनेको छ, एउटा । अरु एकदुई ठाउँमा पनि बनिरहेको छ, सानो सानो । बागमती, विष्णुमती, धोवीखोला सबैलाई सफा गर्नको लागी ट्रिटमेण्ट प्लान्टहरु धेरै नै चाहिन्छ । उपत्यकाका नदी सफा गर्नको लागि धेरै ट्रिटमेण्ट प्लान्टहरु बनाउने योजनामा छौँ ।’

उनले हरेक परियोजनामा रुख कटाईमा समस्या हुने गरेको बताए । सहजै रुख काट्न नपाइने कारण विकास निर्माणका काममा ढिलाई हुने उनको भनाइ छ । उनले नदीहरुका ढल प्रशोधनका लागि सरकारले काम गरिरहेको जानकारी दिए ।