कुलमान घिसिङ र काठमाडौँका मेयर बालेन शाहबीच सम्झौता

सोमबार, २२ मंसिर २०८२

काठमाडौं –  उर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँका मेयर बालेन शाहबीच सम्झौता भएको छ । ‘उज्यालो नेपाल पार्टी’लाई समर्थन गर्ने विषयमा बालेन र कुलमानबीच सम्झौता भएको हो । सम्झौता अनुसार दुबै जना उक्त पार्टीको कुनै पनि पदमा रहने छैनन् ।

मन्त्रीबाट राजीनामा दिएपछि कुलमान प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रीत हुने भने बालेनले समर्थन गर्ने छन् । बालेन कुलमान सम्झौता पछि रवि लामिछानेको रास्वपासमेत नजिकिएको छ ।

अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङ समर्थित पार्टीलाई काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले समर्थन गर्ने भएका छन् । घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा कुनै पनि पद नलिने गरी बालेनले समर्थन गर्न लागेका हुन् । बहालवाला मन्त्री भएकाले घिसिङ पनि खुलेर पार्टीको कुनै पनि पदमा छैनन् ।

उक्त पार्टीको अध्यक्षमा पूर्वसचिव अनुप उपाध्याय छन् । राजनीतिक वृत्तमा घिसिङले उपाध्यायलाई केवल ‘डमी’का रुपमा राखेको टीकाटिप्पणी हुँदै छ । केही दिनअघि उक्त पार्टीको घोषणासभा हुँदै गर्दा घिसिङ प्रमुख अतिथिका रुपमा सहभागी थिए । उनी मन्त्रीबाट राजीनामा दिएपछि पार्टी अध्यक्ष बन्ने र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा होमिने तयारीमा छन् ।

बालेन आफैँ नेतृत्वमा नआउने, तर घिसिङलाई समर्थन गर्ने उनीनिकट स्रोतले बताएको छ । “मेयर सा’बले मन्त्री घिसिङको पार्टीलाई समर्थन गर्नुहुन्छ, तर कुनै पद लिनुहुन्न । पदीय जिम्मेवारी लिन लागेको भनी बाहिर आएका कुरामा सत्यता छैन । उहाँले मेयरकै कार्यकाल पूरा गर्नुहुन्छ,” स्रोतले भन्यो ।

गएको मंसिर १२ गते घिसिङ भेटवार्ताका लागि मेयर बालेनकै घर पुगेका थिए । त्यसको तीन दिनपछि मंसिर १४ गते आइतबार राति सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै देश बनाउने अभियानमा आफूहरू सँगै रहेको बताएका थिए ।“देश बनाउने अभियानमा हामीसँगै छौं,” घिसिङले लेखेका थिए । त्यतिबेला बालेन घिसिङकै पार्टीमा जोडिने चर्चा चलेको थियो ।

बालेन निकट स्रोतका अनुसार, मेयरकै सहमतिमा घिसिङले फोटो सार्वजनिक गरेका हुन् । “वास्तवमा मेयरकै सहमतिमा फोटो सार्वजनिक गरिएको थियो । विचलित समाजमा एक भएको सन्देश जाओस् भन्ने हिसाबले त्यो तस्बिर सार्वजनिक गरिएको हो,” स्रोतले भन्यो ।