रविको अभियोग फिर्ता लिने निर्णयविरुद्ध अर्को पनि रिट

शुक्रबार, २ माघ २०८२

काठमाडौं—रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अर्को पनि रिट परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट निवेदन पेश गर्दै निर्णय तत्काल कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । यसअघि अधिवक्ता युवराज सफलले पनि सर्वोच्चमा मुद्दा दायर गरेका थिए । दुबै निवेदन दर्ता हुने प्रक्रियामा रहेका छन् ।

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रविविरुद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको अभियोग फिर्ता लिने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका लागि जिल्ला सरकारी वकिल कार्यालय,काठमाडौं, रुपन्देही,कास्की र पर्सालाई पत्राचार पनि गरिसकिएको छ ।