दुईदिने ‘जापानी भाषा शिक्षक प्रशिक्षण’ कार्यक्रम सम्पन्न
काठमाडौं – जापानिज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सान) ले आयाेजना गरेकाे दुईदिने ‘जापानी भाषा शिक्षक प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ। जापानीज भाषा शिक्षणको गुणस्तर सुधार गर्न र भाषा शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
काठमाडौंमा यही साउन २२ र २३ गते दुई दिन जापान फाउन्डेसनको सहयोगमा जाल्सानले संचालन गरेको प्रशिक्षणमा सदस्य संस्थाका ३२ जना जापानीज भाषा शिक्षकहरुले सहभागीता रहेकाे थियो । प्रशिक्षणमा जापानीज भाषा अध्यापनलाई प्रभावकारी बनाउने आधुनिक शिक्षण विधि, विद्यार्थीको भाषा सिकाइ क्षमता बढाउने उपाय, कक्षा व्यवस्थापन, शिक्षण सामग्रीको प्रभावकारी प्रयोग तथा व्यावहारिक शिक्षण प्रविधिमा केन्द्रित विभिन्न सत्र सञ्चालन गरिएको जाल्सानले जनाएको छ ।
प्रशिक्षणमा सहभागी शिक्षकहरूले जापानीज भाषा अध्यापनका क्रममा देखिएका चुनौती र प्रयोगमा रहेका शिक्षण अभ्यासबारे अनुभव आदानप्रदान गर्नुका साथै आफुले सिकेका नयाँ विधि तथा प्रविधिलाई कक्षाकोठामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा अभ्यास र छलफल भएको जाल्सानले उल्लेख गरेको छ ।
नेपालमा जापानी भाषा सिक्ने विद्यार्थीको संख्या र यसप्रतिको आकर्षण बढिरहेको अवस्थामा शिक्षकको क्षमता पनि समयानुकुल अभिवृद्धि गर्दै लैजानुपर्ने आवश्यकता देखिएकाले दुई दिने ‘जापानी भाषा शिक्षक प्रशिक्षण’ कार्यक्रम संचालन गरिएको जाल्सानका अध्यक्ष रमेश देवकोटालेले बताए ।
प्रशिक्षणको समापन समारोहमा बोल्दै अध्यक्ष देवकोटाले गुणस्तरीय जापानी भाषा शिक्षाका लागि शिक्षकको क्षमता अभिवृद्धि अनिवार्य रहेको उल्लेख गरे । ‘शिक्षकको क्षमता अभिवृद्धिको प्रत्यक्ष प्रभाव विद्यार्थीको सिकाइ उपलब्धिमा पर्ने भएकाले जाल्सानले शिक्षकहरूको व्यावसायिक विकासलाई प्राथमिकतामा राखेको राखेको छ,’ उनले भने, ‘हामीले सामुहिक प्रयासबाट विद्यार्थीको आवश्यकता र बदलिँदो शिक्षण अभ्यासअनुसार आधुनिक विधि तथा प्रविधिको प्रयोग बढाउनैपर्छ ।’
त्यसैगरी जाल्सानका महासचिव अरुण पाण्डेले प्रशिक्षणमा सहभागि शिक्षकहरूलाई आफुले प्राप्त गरेको ज्ञान र सीपलाई कक्षाकोठामा व्यावहारिक रूपमा प्रयोग गर्न आग्रह गरे । ‘भाषा शिक्षक, भाषा विद्यालय र सम्बन्धित संस्थाबीचको सहकार्य र ज्ञान आदानप्रदान नै प्रशिक्षणको मूल मर्म हो,’ महासचिव पाण्डेले भने, ‘यस्ताखाले प्रशिक्षणले जापानी भाषा शिक्षणको गुणस्तर सुधारमा योगदान पुग्ने विश्वास लिएको छु ।’ उनले जाल्सान र जापान फाउन्डेसनबीचको सहकार्यबाट आगामी दिनमा पनि परिणाममुखी कार्यक्रमहरु संचालन गरिने प्रतिवद्धता जनाए ।
त्यस्तै प्रशिक्षकद्वय KOJIMA Keiko र SUJUKI Chiaki ले दुईदिने प्रशिक्षणमा शिक्षकहरूको सक्रिय सहभागिताप्रति खुसी व्यक्त गर्दै आफुले सिकेका ज्ञान र सीपलाई कक्षाकोठामा प्रयोग गर्न आग्रह गरे । उनिहरुले जापानी भाषा शिक्षकका लागि निरन्तर सिकाइ, नयाँ शिक्षण विधिको प्रयोग र विद्यार्थीको आवश्यकता बुझेर अध्यापन गर्ने क्षमता विकासका लागि जाल्सानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
जाल्सानले नेपालमा जापानी भाषा शिक्षणलाई थप व्यवस्थित र गुणस्तरीय बनाउन आगामी दिनमा पनि शिक्षकहरूको व्यावसायिक विकास, क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रियस्तरका शिक्षण अभ्यासको आदानप्रदानका लागि प्रशिक्षण, कार्यशाला तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरेको छ ।



