यस्तो छ सभामुख अर्याल र पूर्वमन्त्री शरदसिंह भण्डारीलाई पक्राउ नगर्नुको कारण….
काठमाडौं– नेपालमा एउटा पुरानो राजनीतिक भनाइ छ– सत्ता र शक्तिमा पुगेपछि कानुन पनि कमजोर हुन्छ । तर नयाँ राजनीतिक शक्तिको उदयसँगै यो भनाइ गलत साबित हुने अपेक्षा गरिएको थियो।
पुराना नेताहरूको संरक्षणवाद, राजनीतिक पहुँचका आधारमा हुने उन्मुक्ति र राज्यका निकायमाथिको हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धतासहित बालेन शाह नेतृत्वको सरकार बनेको छ। तर अहिले मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणले यही सरकारको सुशासनको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ।
७ लाख ५० हजारभन्दा बढी नेपाली श्रमिकबाट अतिरिक्त रकम असुलिएको र १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम मलेसिया पठाइएको प्रहरी अनुसन्धानको प्रारम्भिक निष्कर्ष छ। यो प्रकरणमा दुई पूर्वश्रममन्त्री पक्राउ परिसकेका छन्। पूर्वमुख्यसचिवसमेत पक्राउ परेका छन्। तर रकम मलेसिया पठाइएको अवधिमा श्रममन्त्री बनेका सभामुख डोलप्रसाद अर्याल र शरदसिंह भण्डारीमाथि भने अहिलेसम्म अनुसन्धान अघि बढेको छैन ।
कसरी भयो १ अर्ब ६९ करोडको खेल ? यो प्रकरणको जरो बुझौँ।
नेपाल र मलेसियाबीच सन् २०१८ अक्टोबर २९ मा श्रम सम्झौता भएको थियो। सम्झौताअनुसार मलेसियामा रोजगारीका लागि जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणलगायतका निश्चित खर्च रोजगारदाताले बेहोर्नुपर्ने व्यवस्था थियो। यदि श्रमिकले नेपालमै रकम तिर्नुपरेको भए मलेसिया पुगेपछि पहिलो महिनाको तलबसँगै फिर्ता पाउनुपर्ने थियो।
तर व्यवहारमा मलेसिया जाने श्रमिकबाट सरकारले तोकेको स्वास्थ्य परीक्षण शुल्कबाहेक बायोमेडिकल सर्भिस चार्जका नाममा थप १०० मलेसियन रिंगेट उठाइएको अनुसन्धानमा उल्लेख छ। सीआईबीको प्रारम्भिक अनुसन्धानअनुसार ७ लाख ५० हजार ९८८ जना श्रमिकबाट अतिरिक्त रकम उठाइएको थियो।
त्यसरी संकलित रकममध्ये १ अर्ब ६९ करोड २ लाख रुपैयाँभन्दा बढी रकम १७ पटकमा मलेसिया पठाइएको अनुसन्धानमा खुलेको छ। रकम मलेसियास्थित बेस्टिनेट कम्पनीमा पठाइएको थियो। यस प्रकरणमा म्याक्रोटेक कम्पनीका सञ्चालकदेखि सरकारी अधिकारी र पूर्वमन्त्रीसम्म अनुसन्धानको दायरामा आएका छन्।
यो प्रकरणमा सीआईबीले अनुसन्धान अघि बढाउँदै पूर्वश्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरलाई पक्राउ गरेको छ। पूर्वश्रमसचिव विनोद केसी, अन्य उच्च सरकारी अधिकारी तथा कम्पनीका सञ्चालकहरूसमेत पक्राउ परेका छन्। पूर्वमुख्यसचिव एकनारायण अर्याललाई समेत पक्राउ गरिएको छ।
तर अनुसन्धानको अर्को पाटो झन् रोचक छ। अनुसन्धानका क्रममा रकम मलेसिया पठाउने काम अहिलेका सभामुख डोलप्रसाद अर्याल र शरदसिंह भण्डारीले पनि मन्त्रीस्तरिय निर्णय गरेका थिए ।
तथ्यांक हेरौँ। डोलप्रसाद अर्याल २०७९ माघ ३ गते श्रममन्त्री बनेका थिए। उनको पहिलो कार्यकालमा माघ ५ गते नै ९ लाख डलरभन्दा बढी रकम मलेसिया पठाइएको विवरण सार्वजनिक भएको छ। त्यसपछि शरदसिंह भण्डारी श्रममन्त्री बने। उनको कार्यकालमा पाँचवटा थप कारोबारमार्फत रकम मलेसिया पठाइएको विवरण छ। अर्याल २०८० चैतमा पुनः श्रममन्त्री बनेका बेला पनि थप रकम पठाइएको थियो। सीआईबीको अनुसन्धानमा चारवटा मन्त्रीस्तरीय निर्णय र १७ पटक रकम पठाइएको विषय उल्लेख छ।
तर सार्वजनिक अनुसन्धानको विवरणअनुसार दुई पूर्वमन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर मात्रै पक्राउ परेका छन्। अर्याल र भण्डारीको कार्यकालमा पनि रकम पठाइएको तथ्य सार्वजनिक भइसकेको अवस्थामा पनि उनीहरुमानथि अनुसन्धान नहुनु रहस्यमय छ ।
अर्याल रास्वपाबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभाको सभामुख छन् । शरदसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका ससुरा हुन् । राजनीतिक पहुँचका आधारमा कसैलाई उन्मुक्ति नदिने, भ्रष्टाचारमा संलग्न जोसुकैलाई कारबाही गर्ने र कानुन सबैका लागि बराबर हुने प्रतिबद्धता सरकारको राजनीतिक सन्देशको महत्त्वपूर्ण हिस्सा हो। तर मलेसिया प्रकरणमा अनुसन्धानको दायरा खुम्च्याएर सरकारले भनाई र गराईको अन्तर देखाइसकेको छ ।
सभामुख पद संवैधानिक पद हो। तर संवैधानिक पदमा पुगेको व्यक्ति अनुसन्धानभन्दा माथि हुँदैन। कुनै मन्त्रीको पारिवारिक सम्बन्धका कारण अनुसन्धान प्रभावित हुनुहुँदैन । यो प्रसंगमा नेपालको राजनीतिमा यसअघि भएको एउटा चर्चित घटना पनि सम्झनुपर्ने हुन्छ। २०७६ साल असोज। तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कारको आरोप लगाइन्।
त्यतिबेला महरा सामान्य सांसद थिएनन्। उनी प्रतिनिधिसभाका सभामुख थिए। तत्कालीन नेकपाका प्रभावशाली नेता थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीका शीर्ष नेतासमेत थिए।
तर आरोप सार्वजनिक भएपछि के भयो ? नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन आग्रह गर्ने निर्णय गर्यो। त्यसपछि महराले सभामुख पदबाट राजीनामा दिए। असोज १९ गते प्रहरीले उनलाई पक्राउ गर्यो। अर्थात्, आफ्नै पार्टीका प्रभावशाली नेता र सभामुखमाथि गम्भीर आरोप लागेपछि तत्कालीन पार्टी नेतृत्वले उनलाई पदमा टिकाइराख्ने निर्णय गरेन।
त्यस घटनामा प्रचण्डको भूमिका र पार्टीको निर्णयबारे फरक राजनीतिक व्याख्या हुन सक्छ। तर महराले पद छाडे र अनुसन्धानका लागि प्रहरी हिरासतमा पुगे भन्ने तथ्य स्पष्ट छ।
अब अहिलेको अवस्था हेरौँ। बालेन शाह प्रधानमन्त्री छन्। रवि लामिछाने सभापति छन् । डीपी अर्याल सभामुख छन्। तीनै राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिएका राजनीतिक नेतृत्व हुन्। डीपी अर्याल श्रममन्त्री हुँदा मलेसिया जाने श्रमिकसँग अतिरिक्त रकम उठाउने र रकम विदेश पठाउने कारोबार भएको अनुसन्धान विवरण सार्वजनिक भएको छ।
तर उनीमाथि अनुसन्धान अघि बढेको छैन। यहाँ एउटा गम्भीर प्रश्न उठ्छ। प्रचण्डले आफ्ना पार्टीका सभामुख महरालाई पदबाट हट्न दबाब दिएको उदाहरण प्रस्तुत गर्दै आएको राजनीतिक नेतृत्वले अहिले आफ्नै राजनीतिक वृत्तका व्यक्तिमाथि उठेका प्रश्नमा कस्तो व्यवहार गर्छ ? के बालेन सरकार पनि राजनीतिक निकटताका आधारमा फरक व्यवहार गर्ने पुरानै प्रवृत्तिमा जान्छ ? वा सभामुखमाथि समेत निष्पक्ष अनुसन्धान हुन सक्ने वातावरण बनाउँछ ? महरा प्रकरण र मलेसिया प्रकरणका आरोप फरक प्रकृतिका हुन्। त्यसैले दुवै घटनाको कानुनी तुलना गर्न मिल्दैन। तर सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न उठ्दा राजनीतिक नेतृत्वले देखाउने जवाफदेहिताको तुलना गर्न भने सकिन्छ।
सरकारले एउटा कुरा बुझ्नुपर्छ– सुशासन भनेको विपक्षीलाई पक्राउ गर्नु मात्रै होइन। आफ्ना मान्छेमाथि प्रश्न उठ्दा पनि निष्पक्ष अनुसन्धान हुन दिनु हो।सीआईबीले दुई पूर्वमन्त्रीलाई पक्राउ गर्यो, पूर्वमुख्यसचिवलाई समेत पक्राउ गर्यो। अब अनुसन्धानको दायरा अरू जिम्मेवार व्यक्तिसम्म पुग्छ कि पुग्दैन, त्यो हेर्न बाँकी छ।
प्रचण्डको पालामा महराले पद छाड्नुपरेको थियो। अब बालेनको पालामा आफ्नै राजनीतिक वृत्तका व्यक्तिमाथि प्रश्न उठ्दा सरकारले कस्तो व्यवहार गर्छ ? सुशासनको परीक्षा विपक्षीलाई कारबाही गरेर होइन, आफ्ना मानिसमाथि पनि कानुन समान रूपमा लागू गरेर हुन्छ।
अन्ततः प्रश्न एउटै छ– के बालेन सरकार पुरानै राजनीतिक संरक्षणवादको निरन्तरता बन्नेछ, कि राजनीतिक सम्बन्धभन्दा माथि उठेर निष्पक्ष अनुसन्धानको उदाहरण प्रस्तुत गर्नेछ ? यो प्रश्नको जवाफ सरकार, प्रहरी र रास्वपा नेतृत्वले दिनैपर्छ। प्रचण्डले महरा ढाले जस्तै रविले डिपी अर्याललाई संरक्षण गर्नु हुँदैन । उनलाई राजीनामा दिन रास्वपाले दवाव दिनुपर्छ, राजीनामा नदिए महाअभियोग लगाउने, पक्राउ गरेर अनुसन्धान गर्ने लगायतका कदमहरु चाल्नुपर्छ ।
यो घटनामा पूर्वमुख्यमन्त्री एकनारायण अर्याल पक्राउ परेपछि नयाँ टुइस्छ आएको छ । रास्वपा सभापति रवि लामिछानेले तत्काल एक्सन लिएर प्रधानमन्त्री बालेन्द्र शाहलाई निवासमै बोलाएर थर्काएका छन् । रविले गृहमन्त्री हुँदा अर्याललाई छानेर गृहसचिव बनाएका थिए । रविसहित सभामुख डीपी अर्याल र परराष्ट्रमन्त्री शिशिर खनालले आगामी दुई महिनापछि रिक्त हुन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा अर्याललाई लैजानेबारे छलफल गरेका थिए । सरकारले अर्याललाई पक्राउ गरेर उनीहरुको योजनामा ब्रेक लगाउन प्रधानमन्त्रीको टिमले पुरानो विषय उछालेर अर्याललाई पक्राउ गराएपछि रास्वपा भित्रको राजनीतिक संघर्ष झनै पेचिलो बनेको छ ।