गृहमन्त्री गुरुङको कोर्ट म्यारिजले सामाजिक मान्यता पाउँदै, गर्दैछन् धुमधाम विवाह
काठमाडौं–आठ वर्षअघि नै कानुनी रूपमा विवाह गरिसकेको एउटा जोडी अहिले फेरि सामाजिक परम्परा अनुसार विवाह गर्दैछ । त्यो पनि सामान्य व्यक्ति होइनन्, देशका गृहमन्त्री सुधन गुरुङ , सात–आठ वर्षअघि अदालतमा विवाह गरेका सुधन गुरुङ र उनकी पत्नी अहिले परम्परागत सांस्कृतिक विधिअनुसार विवाहको तयारीमा छन्।
दुबैतीरको परिवारमा अहिले धमाधम विवाहको तयारी भइरहेको छ । गृहमन्त्रीको विवाह मंसिर १७ गते गृहजिल्ला गोरखामा हुने छ। अमेरिकामा रहेकी उनकी पत्नी पुनः अमेरिका नजानेगरी फर्किएपछि गृहमन्त्रीले घरजम बसाउन लागेका हुन् । श्रीमती अमेरिकामा रहेका बेलामा गुरुङ नेपालमै रहेर सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय थिए । विशेषगरी विपद् र संकटका बेला स्वयंसेवक परिचालन गर्ने अभियानबाट उनको सार्वजनिक पहिचान विस्तार भयो ।
मंसिर ११ गते काठमाडौंमा दुई परिवारको उपस्थितिमा इन्गेजमेन्ट भएको छ । गृहमन्त्री गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विवाहको निम्तो दिएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि विवाहमा निम्तो दिएपनि विवाहमा सरिक हुने कि नहुने विषयमा जवाफ दिएका छैनन् ।
अब सबैभन्दा रोचक प्रश्न– कानुनी विवाह गरिसकेपछि पनि आठ वर्षसम्म सांस्कृतिक विवाह किन भएन ? यसको आधिकारिक जवाफ सुधन गुरुङ वा उनको सचिवालयले सार्वजनिक गरेको छैन । पहिलो, कानुनी विवाहपछि उनकी पत्नी अमेरिका गएकी थिइन्। दोस्रो, केही समयअघि मात्रै उनी नेपाल फर्किएकी छन्।
त्यसैले लामो समयदेखि अलग–अलग देशमा रहेका दम्पती अहिले नेपालमै सँगै पारिवारिक जीवन अघि बढाउने र दुवै परिवारको उपस्थितिमा विवाह संस्कार पूरा गर्ने तयारीमा रहेको बुझिन्छ। तर उनीहरू किन लामो समय अलग, अलग बसे ? अमेरिका जानुको कारण के थियो ? र अहिले नेपाल फर्किनुको व्यक्तिगत कारण के हो ? यी प्रश्नहरुको जवाफ विस्तार खुल्दै जानेछ ।