काठमाडौँमा किन छिनछिनमै जान थाल्यो बिजुली?

आइतबार, २० पौस २०७६

 काठमाडौँ -नेपालमा लोडसेडिङ हटेको लामो समय भयो। नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणलाई बेलामा–बेलामा बिजुली खपत बढाउन आग्रह पनि गरिरहेकै छ।तर हिजोआज फेरी लोडसेडिङको झल्को दिदैं बिहान–बेलकी झ्याप्प–झयाप्प बत्ती जान थालेको छ।

घरको काम गर्ने बेलामै बिजुली नहुँदा सर्वसाधारण फेरी लोडसेडिङ त सुरु भएन भनेर शशंकित छन्।हामी यही प्रश्न बोकेर नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी काहाँ पुग्यौं।
विना सूचना बिजुली काटिएको स्वीकार्दै अधिकारीले लोडसेडिङ नभएको स्पष्ट पारे।
बिजुलीको माग छोटो समयमा अत्याधिक बढेकाले ‘ट्रिप भएको’ (बत्ती जाने गरेको)अधिकारीले जानकारी दिए।

‘सामान्यतया काठमाडौं उपत्यकाको माग ३ सय ५० मेघावार्ट हो। पछिल्लो समय काठमाडौंमा अत्याधिक चिसो बढेपछि हिटिङ लोड बढेर विद्युतको माग ४०० मेघावार्ट नाघेको छ। यो माग उपत्यकाको संदर्भमा असामान्य हो,’ उनले भने।

यो समस्या हल गर्न प्राधिकरणले सव स्टेसनहरुको क्षमता बिस्तारमा काम अघि बढाइरहेको उनले जानकारी दिए।

प्राधिकरणले भक्तपुर सब स्टेसनमा २२.५ एमबिएको ट्रान्सफर्मर जडान गरेर संचालनमा ल्याइसकेको छ।
‘त्यसले गर्दा त्यहाँबाट विद्युत प्रवाह हुने ठाउँमा धेरै सुधार भइसकेको छ,’ उनले भने ‘स्विचाटारको सब स्टेसनमा पनि ३० एमबिएको ट्रान्सफर्मर जडान भइसकेको छ’,उनले भने।
त्यस्तै, शहरभित्रको वितरण प्रणली चुस्त बनाउन विभिन्न ठाउमा ट्रान्सफर्मर फेर्ने र फिडर लोड परिर्वतन गर्ने काम तीब्र रुपमा भइरहेको उनले बताए।

‘कतिपय फिडरहरु ओभरलोड छन्। ओभरलोड भएर सिस्टम ट्रिप हुन्छ। ‘ओभरलोड हुने फिडरबाट त्यो लोड अर्को नजिकको फिडरमा सारिरहेका छौं। कतिपय ठाउँमा नयाँ फिडर निमार्ण गरिरहेका छौं,’ उनले सेतोपाटीसगँ भने ‘गोदावरी र चापागाउँ फिडर ओभरलोडमा थियो, त्यसको ओभरलोड कम गर्न अर्को फिडर थपेर लोड कम गर्यौं।’