२१ वर्षीया युवतीलाई बलात्कार गर्ने पोखराका एक प्रिन्सिपल जेल चलान
पोखरा – पोखराको एक निजी स्कूलका संस्थापक प्रिन्सिपल बलात्कार अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका छन् ।
पोखरा रामघाटस्थित प्यारामाउन्ट पब्लिक स्कूलका प्रिन्सिपल श्रीमान गुरुङ २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका हुन् । उनी हाल चितवन कारागारमा छन् ।
गत चैत ३ गते आफूमाथि बलात्कार गरेको भनी ती युवतीको इलाका प्रहरी कार्यालय मुग्लिङमा जाहेरी दिएपछि प्रहरीले गुरुङलाई कुरिनटारको होटलबाट पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक कञ्चन तामाङले भने, ‘जाहेरीपछि हामीहरूले पक्राउ गरेका हौं । आवश्यक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले फाइल अदालत पठाइएकोमा ठीक १ महिनापछि वैशाख ३ गते अदालतले पुर्पक्षका लागि जेल चलान आदेश दिएको हो ।’
प्रहरीका अनुसार गुरुङले कुरिनटारको होटलमै ती युवतीलाई बलात्कार गरेका थिए । ६१ वर्षीय गुरुङले पोखरा रामघाटमा स्कूल चलाएका छन् ।
मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरे ७ देखि १० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।