उदयपुरको भुल्केमा कोरोना फैलिनुको रहस्य खुल्यो

शुक्रबार, १२ बैशाख २०७७

काठमाडौं – उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फैलिएको कोरोना संक्रमणको स्रोत भारतबाट आएका एक युवा भएको निष्कर्ष नजिक आफूहरु पुगेको प्रदेश सरकारका एक उच्च अधिकारीले बताएका छन् ।

भुल्केमा पहिलो पटक ५ वैशाखमा १२ जना जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो । नुरी मस्जिदमा बसेका १६ जमातीमध्ये ११ भारतीय र एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो ।

मस्जिद आसपासको क्षेत्रमा गरिएको परीक्षणका क्रममा थप संक्रमित भेटिए । र, उनीहरु मस्जिद र जमातीहरुको क्लोज कन्ट्याकमा भएकाहरु नै थिए ।

९ वैशाखमा थपिएका ११ संक्रमितको कन्ट्याक ट्रेसिङले भने नयाँ ट्वीस्ट ल्याएको छ ।

भारतको उत्तर प्रदेशबाट आएका एक युवक र उनको परिवारका थप चार जना संक्रमित भेटिएका छन् । लकडाउन हुनुभन्दा ६ दिन अगाडि अर्थात चैत ४ गते उनी घर फर्किएका थिए ।

रेलमार्गबाट जोगबनी र त्यसपछि सार्वजनिक सवारी चढेर उनी झुल्केस्थित आफनो घर पुगेका थिए । भारतबाट फर्किँदा नै उनलाई ज्वारो आएको थियो । स्थानीय मेडिकलबाट औषधी किनेर खाएको समेत खुलेको छ ।

लखनाउमा उर्दु भाषा अध्ययन गरेर घर फर्किएका उनी मस्जिदमा आउजाउ गर्थे । स्थानीयको नमुना संकलन गरेर परीक्षण गर्दा उनको पोजेटिभ आयो । र, परिवारको सदस्यहरुको पनि रिपोर्ट पोजेटिभ नै आएको छ ।

‘युपीबाट आएका युवामा संक्रमण देखिएको छ,’ प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले भने, ‘उनको परिवारका सदस्यहरुमा पनि संक्रमण देखिएकाले उनीबाटै परिवार र समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको निष्कर्ष नजिक प्रदेश सरकार पुगेको छ ।’

अब १६ जना जमाती नुरी मस्जिद पुग्नुअघि बसेको मस्जिद र त्यस आसपासका क्षेत्रमा कोरोना परीक्षण गर्ने र त्यहाँ कसैमा पनि संक्रमण नभेटिए भुल्केमा देखिएको कोरोनाको स्रोत तिनै युवक मानिने उनले सुनाए ।