सरकारविरुद्ध सिन्धु कांग्रेसको मसाल प्रदर्शन

आइतबार, १४ बैशाख २०७७

बाह्रविसे– नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले सरकारको पछिल्ला गतिविधि जनविरोधी भएको भन्दै बाह्रबिसे बजारमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको नेतृत्वमा निस्किएको राँके जुलसले बजार परिक्रमा गर्दै सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ओम्नीसँग सम्झौता गर्दा खुल्मखुल्ला भ्रष्टाचार गरेको, लकडाउन लम्ब्याएर जनताको मुख थुन्ने प्रयास गरेको, प्रधानमन्त्रीको ठाडो निर्देशनमा सत्तारुढ दलकै सांसद र निवर्तमान प्रहरी महानिरीक्षकले सांसद अपहरण गरेको, सामाजिक सञ्जालमा सरकारप्रति असन्तुष्टि ब्यक्त गरेकै आधारमा पूर्व सचिव भीम उपाध्यायमाथि कारबाही गर्न लागेको भन्दै उनीहरुले त्यसविरुद्ध नारा लगाएका थिए ।

 


सभापति बस्नेतले आफूहरु सरकारको यस्तो रवैयाविरुद्ध लड्न तयार रहेको बताए । कांग्रेसका स्थानीय युवा नेता युधिर पौडेलले बर्तमान सरकार स्वेच्छाचारी रुपमा अगाडि बढेको बताउँदै देशमा कानुनी राजभन्दा पनि कम्युनिष्ट राज ल्याउन खोजेको भन्दै त्यो सपना नदेख्न चेतावनी दिए ।

सामाजिक दुरी कायम गरेर निकालिएको मसाल जुलसमा कांग्रेसमा सयौं कार्यकर्ताहरुको सहभागी रहेको थियो ।