लकडाउनका कारण धेरैलाई गर्भ रहने चिन्ता, परिवार नियोजनका सामाग्री अभाव

मंगलबार, १६ बैशाख २०७७

काठमाडौं – संयुक्त राष्ट्रसंघको जनसङ्ख्या कोषले कोरोनाभाइरस सङ्क्रमणले अनिच्छित् गर्भधारण बढ्ने जनाएको छ । देशभर लकडाउन भएकाले परिवार नियोजनका साधनहरुको अभाव हुने भएकाले ठूलो सङ्ख्यामा अनिच्छित् गर्भधारण हुने जोखिम बढेको जनाएको छ।

यदि हाल लागु गरिएका जस्ता लकडाउन ६ महिनासम्म निरन्तर भए खासगरि निम्न तथा मध्यम आय भएका देशहरूमा ४ करोड ७० लाख महिलाहरूले परिवार नियोजनका साधनमा पहुँच गुमाउने जनसङ्ख्या कोषले जनाएको छ ।

त्यसको परिणामस्वरूप ७० लाख अनिच्छित् गर्भधारण हुनसक्ने उसको अनुमान छ। उक्त संस्थाले यो अवधिमा लैङ्गिक हिँसाका ३ करोड १० लाख अतिरिक्त घटना हुने पनि अनुमान गरेको छ।

हाल विश्वभरिमा ३० लाखभन्दा धेरै मानिसहरूमा कोरोनाभाइरस सङ्क्रमण भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

दुई लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन्। एउटा परोपकारी संस्थाले कमजोर मुलुकहरूलाई तत्काल सहयोग नगरिए संसारभरि एक अर्बभन्दा धेरै मानिसमा सङ्क्रमण हुनसक्ने चेतावनी दिएको छ।

अन्तर्राष्ट्रिय उद्धार संस्था आइआरसीले कमजोर देशहरूलाई आर्थिक एवं मानवीय सहायता दिन अपिल गरेको छ।