बम विस्फोटमा मारिएका बालबालिकाको शव अझै उठेन, कसले राखेको थियो बम ?

शुक्रबार, १९ बैशाख २०७७

रोल्पा – रोल्पामा जंगलमा बेवारिसे छोडिएको बम विष्फोटबाट ज्यान गुमाएका चार बालबालिकाको शव संकलन हुन नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा एउटा नपड्किएको टु ईञ्च मोटर रहेको र साँझ पनि परेकाले शव सङ्कलन हुन नसकेको प्रहरीको भनाइ छ।

बिहीवार साँझ ६ बजेतिर स्थानीय माईतेकापिना जंगलमा गाई बाख्रा चराउन गएका बालबालिकाले बेवारिसे अवस्थामा रहेको टु ईञ्च मोटर बम चलाएपछि विस्फोट हुँदा चार जना बालबालिकाको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रमुख डिएसपी चित्र बहादुर गुरुङले बम डिस्पोजका लागि आर्मी बोलाइएको र उनीहरू आएर बम डिस्पोज गरेपछि शव सङ्कलन गरिने जानकारी दिएका छन्।

‘म घटनास्थलतर्फ जाँदैछु, आर्मीलाई खबर गरिएको छ। विष्फोट नभएको बम घटनास्थलमै भएकाले आर्मीलाई बोलाइएको हो’, उनले भने। २०६२ सालमा सो स्थानमा सेना र माओवादी विद्रोहीबिच भिडन्त भएको थियो। भिडन्तको वेलामा छुटेको बम हो वा अरु कसैले राखेको हो भनेर अनुसन्धान भइरहेको उनको भनाई छ ।

त्यसैगरी गुरुङले बम घटनास्थलमै थियो वा अन्यत्रबाट खेलाउँदै ल्याए भन्नेमा अनुसन्धान भइरहेको बताए।

बम विस्फोटमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगीको मृत्यु भएको थियो।