सीमानामा फेरी झडप, १२ जना घाइते

मंगलबार, २३ बैशाख २०७७

बारा – भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली नागरिकमाथि हातपात गरेपछि बाराको सीमा क्षेत्रमा झडप भएको छ । सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका एसएसबीका जवानले विश्रामपुर गाउँपालिका–४ का स्थानीय वासिन्दालाई सोमबार हातपात गरेपछि मंगलबार झडप भएको हो ।

यद्यपि, मंगलबार दिनभरको प्रयासपछि विवाद साम्य भएको छ । सोही विषयलाई लिएर दुवैतर्फका बासिन्दासमेत सीमा क्षेत्रमा जम्मा भई झडपमा उत्रिएका थिए । सो क्रममा १०/१२ जना घाइते भएको विश्रामपुर गाउँपालिकाका मेयर अमिरीलाल राउतले बताए । ‘दुवैतर्फ गरी १०/१२ जना सामान्य घाइते भएको सुनेको छु,’ उनले भने, ‘लकडाउनको समय छ, भिडभाडमा निस्कने कुरा पनि भएन, प्रहरीले घटना साम्य भइसक्यो भन्ने जानकारी दिएको छ ।’

उनका अनुसार दुवै देशका सुरक्षा अधिकारी घटनास्थलमा पुगेर आ–आफ्ना देशका नागरिकलाई सम्झाउँदै स्थिति नियन्त्रणमा लिएका हुन् । लकडाउनको समयमा सीमा क्षेत्रमा आवतजावत कडाइ भएपछि तस्करहरुलाई उकासेर झडप हुने गरेको बताइन्छ । घटनास्थलमा पुगेको प्रहरी स्रोतले जनाएअनुसार नेपालबाट भारततिर मदिरा ओसार्ने र भारततिरबाट नेपालतर्फ विभिन्न उपभोग्य वस्तु ओसार्ने समूहले केही दिनदेखि सो क्षेत्रमा अस्थिरता मच्चाउन खोजेको छ ।

‘भारतका एकजनाले नेपालका एक जनालाई तरकारी दिन्छु आइज भनेर बोलाएको भन्ने कुरा आयो’ प्रहरी स्रोतले भन्यो, ‘लकडाउनको समयमा सीमामा आवतजावत बन्द गरिएका कारण नेपालतिरबाट ती मान्छे उता जानेबित्तिकै एसएसबीले रोक्न खोज्दा भनाभन भएपछि सामान्य बल प्रयोग गरेर फर्काएको भन्ने कुरा आयो ।’

सोही घटनालाई लिएर मंगलबार बिहानैदेखि सीमा क्षेत्रमा तनाव भएको ती प्रहरीले बताए ।