उद्योगी व्यवसायीले दिए आत्माहत्या गर्ने धम्की

बुधबार, २४ बैशाख २०७७

काठमाडौं – उद्योगी व्यवसायीहरुले लकडाउनको कारण आत्माहत्या गर्न पर्ने अवस्था सृजना भएको बताएका छन । नेपाली कांग्रेसले आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम र बजेट सम्बन्धमा निजी क्षेत्रसँग गरेको छलफलमा व्यवसायीहरुय यस्तो बताएका हुन ।

कांग्रेसले बुधबार पार्टी कार्यालय सानेपामा निजी क्षेत्रका विभिन्न छाता संगठनहरुको नेतृत्वसँग छलफल आफ्ना धारण राख्दै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाटा)का अध्यक्ष अच्युत गुरागाईंले विश्वमै पर्यटन क्षेत्रमा असर परेको र नेपालमा पनि लामो समय असर रहने बताए । उनले पर्यटन क्षेत्रको समस्या सरकारसम्म लैजाँदा सरकारले नसुन्ने गरेको आरोप समेत लगाए।

पर्यटन मन्त्रालय मार्फत अर्थमन्त्रीसम्म कुरा पु¥याउँदा समस्या नसुनेको गुनासो गर्दै अध्यक्ष गुरागाईंले पर्यटन क्षेत्रमा कर्मचारीलाई तलब खुवाउन २ प्रतिशतमा कर्जा दिने व्यवस्था सरकारले गर्नुपर्ने बताए। लकडाउनपछि व्यवसाय सुरु गर्न पनि पूँजी आवश्यक पर्ने र त्यसमा सरकारको सहयोग आवश्यक रहेको गुरागाईंले बताए।

बैंकको किस्ता र ब्याज भुक्तानी गर्न र घरभाडा तिर्न नसक्ने अवस्था आइसकेकाले व्यवसायीहरु सुसाइड गर्ने अवस्थामा आइसकेको अध्यक्ष गुरागाईंले बताए।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले उद्योगी व्यवसायीले दिएका सुझावहरुलाई संसद र सरकारसम्म लैजाने बताए। छलफलमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणा, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष ज्ञानेन्द्र ढुंगाना लगायत पर्याटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।