निको भएका बिरामीमा पुनः पोजेटिभ देखिनुको रहस्य खुल्यो

शनिबार, २७ बैशाख २०७७

काठमाडौं – निको भएका कोरोनाका विरामीका पुनः कोरोना संक्रमित हुनको कारण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पक्ता लगाएको छ । एक पटक ठीक भएका बिरामीमा पुनः कोभिड–१९ को संक्रमण पोजेटिभ देखिनु फोक्सोमा मरिसकेका कोशिकाहरु जिम्मेवार हुनसक्ने बताएको छ ।

गत अप्रिलमा दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले १ सयभन्दा बढी कोरोनाभाइरस संक्रमितहरु ठीक भइसकेको केही समयपछि पुनः पाजेटिभ देखिएको बताएका थिए । यसपछि चीनमा पनि यस्तो मामिला बाहिर आएको थियो जसलाई कोरानाको दोस्रो लहर भनेर अनुमान गरिएको थियो । नेपालमा पनि अहिले ३ जनामा यस्तै दोहोरिएको छ ।

डब्लूएचओका प्रवक्ताले एएफपीसँग कुरा गर्दै केही बिरामीहरु क्लिनिकल्ली ठीक भए पनि टेस्टमा पोजेटिभ आएको जानकारी प्राप्त भएको बताए । ‘ताजा तथ्यांक र जानकारीको आधारमा हामी यो भन्न सक्छौँ कि यो पोजेटिभ नतिजा रि–इन्फेक्सन भएर आएको नभएर बिरामीको फोक्सोबाट बाहिर निस्किरहेको मृत्त कोशिकाहरु हुन् जुन पहिले संक्रमित भएका थिए,’ उनले भने, ‘यो बिरामीको ठीक हुने प्रक्रिया हो जसमा शरीर आफै सफाइ शुरु गर्दछ । यसलाई पुनःसंक्रमण भन्न सही हुँदैन ।’

यता, हङकङ विश्वविद्यालयको औषधी विभागमा कार्यरत संक्रामक रोग विशेषज्ञ प्राध्यापक जिन डोङ यान बिरामीहरुमा दोस्रो संक्रमण वा लगातार संक्रमण नदेखिएको बताउँछन् । उनी भन्छन्, ‘यता त पहिलो चरणमा राम्रो परीक्षण गरिएको थिएन वा बिरामी उपचारको लामो प्रक्रियामा रहेको थियो ।’ उनका अनुसार टेस्ट किटको गुणस्तरदेखि स्याम्पल संकलन गर्ने तरिकाले परीक्षणको नतिजामा प्रभाव पार्ने गर्दछ ।

चीनमा संक्रमितलाई निको भएर अस्पतालबाट डिस्चार्ज गर्न तीन दिनसम्म ज्वरो नआएको, श्वासप्रश्वासमा समस्या नरहेको र फोक्सोको अवस्थामा सुधार आएको हुनुपर्छ । त्यस्तै, एक दिनको अन्तरमा दुई पीसीआर टेस्टमा नेगेटिभ आएको हुनुपर्छ ।

डब्लूएचओका अनुसार ठीक भएका बिरामीहरुको व्यवस्थित तरिकाले स्याम्पलिङ गर्ने काम भइरहेको छ र तिनको अध्ययनपछि नयाँ भाइरसलाई कहिलेसम्म टाढा राख्न सक्छन् भन्ने पत्ता लाग्नेछ । ‘हामीले यो पनि बुझ्न जरुरी छ कि टेस्ट पोजेटिभ आउनुको अर्थ उसले आफूजस्तै अरुलाई पनि संक्रमित गर्न सक्छ भन्ने हो,’ डब्लुएचओले भनेको छ ।

स्रोतः साइन्स अलर्ट,साउथ चाइना मोर्निङ पोष्ट