भारतबाट हिँडेरै आएकी महिलाले जन्माइन् जुम्ल्याहा बच्चा
दाङ – तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा बसेकी एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छन । तुलसीपुर – १३ फूलबारी निवासी अनिता यादवले शुक्रबार राति ९ बजे जुम्ल्याहा बालिकालाई जन्म दिएकी हुन्।
भारतको बलरामपुर माइती जागएकी यादवलाई घर फर्किएपछि तुलसीपुरस्थित क्वारेन्टाइनमा रहेका बेला व्यथा लागेको थियो। सुत्केरी हुने समय नजिकिएपछि एक्लै पैदल यात्रा गरेर भारतबाट फर्किएकी यादव गत बुधबार घर फर्किएकी थिइन् । उनलाई बिहीबारदेखि क्वारेन्टाइनमा राखिएको थियो।
लकडाउनका कारण सवारी साधन नचलेपछि लामो दूरीको यात्रा पार गरेर यादव तुलसीपुर आउनुभएको हो । ‘एम्बुलेन्समा आउन पैसा थिएन, घर जान माइतीले दवाव दिएपछि हिँडेरै आएँ,’ उनले भनिन, ‘खानेकुरा साथमै बोकेर ल्याएकी थिएँ, बाटोमा खानेकुराको समस्या त भएन तर बास बस्न भने समस्या थियो।’
दुई दिनको लगातारको पैदल यात्रा हिँडेर घर आएकी उनलाई कसैको घरमा बास माग्दा नदिएको र सडक पेटीमै रात बिताउनुपरेको थियो । यादव भारतबाट आएको थाहा पाएपछि बिहीबारदेखि क्वारेन्टाइनमा राखिएको उपमहानगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख भीमप्रकाश खत्रीले बताए।
उनीहरुको प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि अहिले तुलसीपुरस्थित तुलसी हस्पिटल प्रालिमा एनआइसियुमा राखेर उपचार भइरहेको अस्पतालका सञ्चालक तथा बालरोग विशेषज्ञ डा किशोर खत्रीले बताए।
डा खत्रीका अनुसार तौल सामान्यभन्दा कम भएकाले एनआइसियु (नवजात अतिसघन उपचार कक्ष)मा राखेर उपचार गरिएको छ। शिशुको तौल २.५ देखि ३.५ केजीसम्म हुनुपर्ने भए पनि ती शिशुको तौल क्रमशः डेढ र एक केजी २५ ग्राम छ। कम तौल भएका शिशुको आन्द्रामा प्वाल पर्ने, श्वासप्रश्वासमा समस्या हुने र चिनी कम हुने भई मृत्युसमेत हुने जोखिम भएकाले एनआइसियुमा राखेर उपचार भइरहेको डा खत्रीको भनाइ छ।
उनका अनुसार शरीरमा अक्सिजनको मात्रा कमी भएकाले शिशुको अवस्था गम्भीर छ। आमाको दूध सजिलै चुस्ने नहुँदासम्म एनआइसियुमा राखेर उपचार गर्नुपर्ने डा खत्रीले बताए।