थप दुई जना कोरोना संक्रमित उपचार पछि घर फर्किए
विराटनगर – विराटनगरबाट थप दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुई जना निको भएर डिस्चार्ज भएका हुन् ।
वैशाख १० र १२ गते भर्ना भएका भोजपुर र झापाका एक÷एक जना आइतबार डिस्चार्ज भएका हुन् । भोजपुरका २७ वर्षीय युवक १० वैशाखमा अस्पताल भर्ना भएका थिए । झापा दमकका ६३ वर्षीय वृद्धलाई १२ वैशाखमा कोरोना देखिएपछि कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए ।
कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए । ‘रिपोर्ट नेगेटिभ आएपछि आइतबार दुई जनालाई डिस्चार्ज गरेका छौं,’ सिग्देलले भने, ‘जनप्रतिनिधिको समन्वयमा उहाँहरु घरमा नै क्वारेन्टाइन बस्नुहुन्छ ।’
यस संगै नेपालमा उपचार पछि घर फर्किनेको संख्या ३३ पुगेको छ ।