भारतीय राजदुतलाई मन्त्रालयमा बोलाएर मन्त्रीले झाँको झारे

सोमबार, २९ बैशाख २०७७

काठमाडौं – परराष्ट्र मन्त्रालयले भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको सडकबारे काठमाडौंस्थित भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएको छ।

भारतीय राजदूत विनयमोहन क्वात्रा बिहान साढे ११ बजे मन्त्रालयमा उपस्थित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनलाई परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले डिमार्स दिएका थिए । कूटनीतिक क्षेत्रमा डिमार्स भन्नाले कुनै विषयबारे एक देशको सरकारले अर्को देशसँग राख्ने औपचारिक धारणा भन्ने बुझिन्छ।

शनिबार नेपालमा विदा परेको र आइतबार भारतमा विदा हुने भएकाले राजदूत क्वात्रालाई आज मन्त्रालयमा बोलाइएको स्रोतले जानकारी दियो। राजदूत क्वात्रासँग मन्त्री ज्ञवालीले आफैंले मन्त्रालयमा कुरा गरेका थिए।

भारतले गत शुक्रबार मानसरोबर जोड्न नेपाली भूमि लिपुलेक हुँदै खनेको सडकको उद्घाटन गरेको थियो। भारतको उक्त कदमको नेपालमा तीव्र विरोध भइरहेको छ।