रुकुम हत्याकाण्ड : सकियो प्रहरीको अनुसन्धान, नबराजको पक्षमा आयो प्रतिवेदन

आइतबार, ३२ जेष्ठ २०७७

काठमाडौं – प्रहरीले रुकुम हत्याकाण्डको अनुसन्धान सकेको जनाएको छ । घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन पेश  गरेको छ ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा ६ जनालाई कुटिकुटी हत्या गरेको उल्लेख छ । उक्त प्रतिवेदन सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा पेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रुकुमका अनुसार अनुसन्धानबाट भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको भेटिएको छ । मृतक नवराज र उनकी प्रेमिका भनिएकी सुस्मा मल्लबीच पहिले राम्रो सम्बन्ध भएपनि पछिल्लो समय विग्रिएको थियो । तैपनि लान सकिन्छ कि भनेर युवक साथीहरु लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । स्थानीयसँग विवाद भएपछि युवतीको गाउँमा पुगेको समूह भागेको भन्दै एक अनुसन्धान अधिकारीले भने, ‘उनीहरुलाई छेक्नलाई तल मान्छे राखिएको पाइएको छ ।’

यो कार्यमा संलग्न २९ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन पेश गरिएको प्रहरीले जनाएको छ । यसमा प्रहरीले वडाध्यक्ष, युवतीका बुबा लगायतलाई प्रतिवादी बनाएको छ । ‘कसुर अनुसार कारबाहीका लागि सिफारिस गरेका छौं’, एक प्रहरी अधिकृतले भने ।

उनका अनुसार नदीमा हाम फालेको व्यक्तिलाई पनि ढुंगा हानेको भेटिएको छ । प्रतिवादीले समेत यसलाई स्वीकार्दै बयान दिएका छन् ।