अनमीनको प्रमाणीकरणमा अयोग्य ठहरिएका लडाकूले १ महिनाभित्रै २ लाख पाउने  

बुधबार, २९ चैत्र २०७९

काठमाडौँ – सरकारले तत्कालीन नेकपा (माओवादी) का अनमीनको प्रामाणिकारणमा ‘अयोग्य ठहरिएका लडाकूहरुलाई  जनही २ लाख रुपैयाँ दिने कार्यविधि तयार पारेको छ।

गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहका अनुसार कार्यविधि तयार भइसकेको र एकमहिना भित्र माओवादीका ‘अयोग्य लडाकू’लाई २ लाख रुपैयाँ दिइने प्रक्रिया थालिने बताएका हुन् ।

यसअघि गत चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकूलाई दुई(दुई लाख दिने निर्णय गरेको सार्वजनिक भएको थियो। अनमिनले नै लडाकू होइनन् भनेर प्रमाणित गरिसकेका माओवादी कार्यकर्ताहरूलाई सरकारले राज्यकोषबाट पैसा बाँड्न लागेको भन्दै विरोध भएको थियो।

चैत ८ गते सत्ता गठबन्धनका नेताहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अयोग्य लडाकूहरूलाई पैसा दिने निर्णय नभएको बताएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पत्रकारहरूलाई जानकारी गराएका थिए ।