विद्यालय कर्मचारी परिषद्को जारी आन्दोलन स्थगित
काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि विद्यालय कर्मचारी परिषद्को जारी आन्दोलन स्थगित भएको छ ।
मन्त्रालयबाट गठित वार्ता समितिका संयोजक एवं शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको अनुसार कर्मचारीहरुले आन्दोलन स्थगनपछि वार्ताको थप वातावरण बनेकाले आज दिउँसोदेखि वार्ता आरम्भ भएको हो। वार्ता समितिमा अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवसमेत प्रतिनिधि छन् ।
परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले सरकारले वार्तामा आउन गरेको आग्रह र भावनालाई सम्मान गर्दै विगतमा भएको सहमति र सर्वोच्च अदालतको आदेशको पालना गराउने गरी वार्तामा बस्न आफूहरु तयार भएको जानकारी दिए । परिषद् र सम्बन्धित संस्थाले आज मुलुकभरका सामुदायिक विद्यालय बन्दको कार्यक्रम घोषणा गरेका थिए । काठमाडौं महानगरपालिकाले त्यसरी विद्यालय बन्द गराइए कारबाही गर्ने चेतावनी दिएको थियो । नेपाल शिक्षक महासङ्घले पनि वार्तामा आउन आग्रह गरेको थियो ।
विद्यालय कर्मचारीले मासिक रु आठदेखि १२ हजार ५०० पारिश्रमिकमा काम गर्नु परेको, सर्वोच्च अदालतको २०६७ माघ २३ को आदेशबमोजिम कर्मचारीको सेवा, शर्त, सुविधा उल्लेख गरी कानुन बनाएर कार्यान्वयन गर्न आलटाल भएको, सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफूहरुको सुविधा बढाउने उल्लेख गरेर पनि बजेटमा कुनै सुनुवाइ नगरेको भन्दै आन्दोलन गर्दै आएका छन् ।