आर्थिक मामिला तथा योजना मन्त्री जीवन आचार्यको शपथ ग्रहण आज
काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । आज माओवादी केन्द्र र नेपाली कांग्रेसबाट एक–एक जना मन्त्री नियुक्त गरेर मुख्यमन्त्री थापाले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।
माओवादीबाट प्रदेश सांसद जीवन आचार्य आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुँदैछन् । उनले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक–एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन । माओवादी केन्द्र आज सरकारमा सहभागी हुँदैछ । यसअघि नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा आचार्य पर्यटन मन्त्री थिए । आचार्य माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डका कान्छा ज्वाइँ हुन् ।