विदेशमा मृत्यु भएका श्रमिकका परिवारले अब १० लाख पाउने
काठमाडौँ – वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका परिवारले अब १० लाख रूपैयाँ आर्थिक सहायता पाउने भएका छन् ।
यसअघि वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएमा मृतकका परिवारलाई दिँदै आएको ७ लाखलाइ बढाएर १० लाख रूपैयाँ आर्थिक सहायता दिने बोर्डको निर्णयसंगै एकमुस्ट १० लाख सहायता पाउने भएका हुन् ।
यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रुपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बोर्डले यसअघि दिँदै आएको आर्थिक सहायता तथा छात्रवृत्ति ज्यादै न्यून भएका कारण बढाइएको बताए।धेरै पुरानो निर्णय सहायता स्वरूप मृतकका परिवारलाई तीन लाख रूपैयाँ दिने गरिएको थियो। आर्थिक वर्ष २०७४⁄७५ देखि बढाएर ७ लाख पुर्याइएको थियो।
मृतक श्रमिकका छोराछोरीलाई प्रदान गरिँदै आएको शैक्षिक वृत्ति रकम पनि बढाइएको छ। बोर्डले मृतकका छोराछोरीलाई शिशु कक्षादेखि १२ कक्षासम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ। छात्रवृत्ति पनि श्रमिकले वैदेशिक रोजगारीमा जाने क्रममा जम्मा गरेको कोषकै रकमबाट प्रदान गरिँदै आएको छ। थियो। अहिलेको अवस्थामा निकै कम भएकाले बढाइएको छ, उनले भने। यस्तो सहायता २०६५ देखि मृतकका आफन्त तथा अंगभंग भएका श्रमिकलाई दिन थालिएको हो।
बोर्डले यसअघि शिशु कक्षादेखि कक्षा ८ सम्म अध्ययनका लागि वार्षिक ८ हजार दिँदै आएको थियो। अब भने १२ हजार पाँच सय रूपैयाँ दिन लागिएको हो। त्यस्तै, ९ कक्षादेखि १२ कक्षासम्म वार्षिक १२ हजार रूपैयाँ प्रदान गरिँदै आएकोमा १५ हजार पाँच सय रूपैयाँ दिने निर्णय भएको हो।
नेपालबाट कामको सिलसिलामा विभिन्न गन्तव्य मुलुक पुगेका ठूलो संख्यामा नेपाली युवाहरूले ज्यान गुमाउने गरेका छन्।
कतिपय अंगभंग भएर समेत फर्कने गरेका छन्। पछिल्लो तथ्यांक हेर्दा वार्षिक एक हजारभन्दा धेरैले विभिन्न मुलुकमा ज्यान गुमाउने गरेका छन्। पाँच सयको हाराहारीमा अंगभंग भएर फर्कनु परेको अवस्था छ।
बोर्डका अनुसार मृत्यु हुनेमा धेरैजसो प्राकृतिक कारण देखाइएको पाइन्छ। त्यस्तै आत्महत्या, दुर्घटना, हार्टअट्याक जस्ता कारण पनि मृत्यु हुने गरेको उल्लेख गरिएको छ। काम गर्ने क्रममा तथा सडक दुर्घटनालगायत कारण अंगभंग भएर फर्कने गरेका छन्।