आज देशका यी स्थानहरुमा चट्याङसहित भारी वर्षाको सम्भावना
काठमाडौँ – देशका केही स्थानमा मंगलबार बिहानैदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र बाँकी प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको हो ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति देशभर साधारणतया बदली रहनेछ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकरदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षाका कारण निम्तिन सक्ने प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाले जनाएको छ ।