एकीकृत समाजवादीले बनायो तीन सय ४४ सदस्यीय केन्द्रीय समिति (नामावलीसहित)

शुक्रबार, १८ साउन २०८१

काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय समितिको टुंगो लगाएको छ । नेकपा एसले आकांक्षीहरू अत्यधिक भएपछि विधानभन्दा बाहिरको व्यवस्थासहित केन्द्रीय समिति टुंगो लगाएको हो ।

समाजवादीको विधानमा २१ जना पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति व्यवस्था गरिएको छ । तर समाजवादीले शुक्रबार सबै आकांक्षीलाई सम्बोधन गर्न महाधिवेशन भएको एक महिनापछि ३ सय ४४ सदस्यीय केन्द्रीय समिति टुंगो लगाएको हो ।

आलोकनगरमा बसेको केन्द्रीय कमिटीको बैठकले उक्त संख्या रहेको केन्द्रीय कमिटी घोषणा गरेको हो । असार १६ देखि ४ दिनसम्म काठमाडौंमा भएको महाधिवेशन केन्द्रीय नेतृत्व तय गर्न सकेको थिएन । केही पदाधिकारी मात्रै टुंगो गरेको महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो ।

अब ३४४ सदस्यीय केन्द्रीय कमिटीको टुंगो भएकाले बाँकी पदाधिकारी त्यसपछि टुंग्याउने तयारी छ । समाजवादीले अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालको मात्रै नाम टुंग्याएको थियो ।