रास्वपा सांसद सोविता गौतममाथि आफ्नै निर्वाचन क्षेत्रमा ‘दुर्व्यवहार’
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई उनकै निर्वाचन क्षेत्रभित्र केही युवाहरुले अमर्यादित व्यवहार गरेका छन् । यस विषयमा गौतमले आज संसदमा पनि ध्यानाकर्षण गराइन् ।
अविरल वर्षा र बाढी–पहिरोले गरेको क्षतिको अवलोकन गर्न हिजो बिहानैदेखि उनी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विभिन्न स्थानमा पुगेकी थिइन् । यस क्रममा करिब साँझ ५ बजे उनी कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा पर्ने मनकामना टोलमा घटना भएको हो । केही युवाहरुले उनलाई घेरेर हुलहुज्जत गरेका थिए । सोवितासँग उनकी स्वकीय सचिव प्रकृती न्यौपाने मात्र थिइन् ।
मुलपानी क्रिकेट रंगशालाबाट विपरीत डाँडापट्टि एउटा चौतारो र त्यसनजिक चियापसल छ । त्यो कटेपछि एउटा बस्ती आउँछ । उक्त बस्तीमा पहिरो गएको ठाउँ देखाउनका लागि केही स्थानीयहरु चिया पसलमा उनलाई पर्खेर बसेका थिए । सोविता उनीहरुसँगै पहिरो गएको स्थान अवलोकन गरेर करिब आधा घन्टामा फर्किइन् ।
फर्किने क्रममा उनले चिया पसल अगाडि केही युवाहरुको हुल देखिन्, जो अघि त्यहाँ थिएनन् । उनीहरु सबै झगडाको मुडमा थिए । सोविताको गाडी आउनासाथ उनीहरुले घेराउ गरे ।
उनीहरुमध्येका एकजनाले ‘तपाईं बुढाहरुको मात्र कुरा सुन्ने, युवाहरुलाई वास्ता नगर्ने ?’ भनेपछि सोविता गाडीबाट ओर्लेकी थिइन् । त्यसपछि आफूमाथि उनीहरु अमर्यादित तवरले पेश भएको र फोहोरी शब्दहरुसमेत प्रयोग गरेको सोविताको आरोप छ ।
‘माननीयज्यू उहाँहरुको कुरा सुन्छु भनेर गाडीबाट निस्किनुभयो, तर उनीहरुको नियत अर्कै रहेछ’, सोवितासँग रहेकी स्वकीय सचिव न्यौपानेले भनिन् ।
न्यौपानेको भनाइमा ती युवाहरुसँग खास कुनै मुद्दा वा माग थिएन । उनीहरु केवल उत्तेजना र उच्छृंखलता देखाइरहेका थिए ।
‘उहाँहरुको प्रस्तुति हेर्दा जसरी पनि माननीयज्यूलाई प्रोभोक गर्ने र भिडिओ बनाएर सामाजिक सञ्जालमा हाल्ने जस्तो देखिन्थ्यो’, न्यौपानेले भनिन्,
भिडिओमा देखिएका एक व्यक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता सुदीप फुयाल भएको खुलेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग खिचेको तस्बिर उनले आफ्नो फेसबुकको कभरमा हालेका छन् ।