खुमलटारको अफरले लोभिए माधव नेपाल, प्रचण्डलाई पार्टी नै बुझाउन दौडधुप

बिहिबार, ३१ साउन २०८१

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्रीको अफर गरेपछि नेपाल लोभिएका छन्। प्रचण्डले पार्टी एकिकरणपछि प्रधानमन्त्रीको अवसर आउँदा उनलाई बनाउने आस्वासन दिएपछि नेपाल लोभिएका हुन्।

अघिल्लो भेटमा नेपाललाई खुमलटारले यस्तो आस्वासन दिएपछि बिहिबार प्रचण्ड निवासमा  दुई पार्टीबीच एकता गरेर जाने विषयमा छलफल भएको हो ।

प्रचण्ड र नेपालबीचको यो साता दोस्रो भेट हो । यसअघि सोमबार प्रचण्ड नेपाल निवासमै पुगेर भेट गरेका थिए। स्रोतका अनुसार प्रचण्डसँग आजको भेटपछि अध्यक्ष नेपाल माओवादीसँग एकताको लागि सकारात्मक भएको माधव नेपाल निकट स्रोतले बतायो ।

तर, नेकपा एसमा माओवादीसँग एकता गर्ने विषयमा ठूलो मतान्तर छ । एमालेसँग एकताको लागि मूल नेतृत्व नै अनुदार भएकाले तत्काल सम्भव नभएको स्रोतको भनाइ छ ।

स्रोतले भन्यो, ‘हाम्रो प्राथमिकता एमालेसँगकै एकता थियो । तर, नेतृत्वको कारणले त्यो सम्भव देखिएन । नेकपा एसलाई विघटन गर्न र सिध्याउनतिर ओली लागेपछि माओवादीसँग एकता गर्न नेताहरु तयार भएका छन् ।’

एकतापछि पार्टीको नाम समाजवादी कम्युनिष्ट पार्टी वा नेकपा समाजवादी राख्नदेखि चुनाव चिन्ह कलम नै राख्न पनि प्रचण्ड तयार भएको स्रोतले दाबी गर्‍यो । भोलि पार्टीलाई प्रधानमन्त्रीको अवसर आउँदा माधव नेपाललाई बनाउने गरी संसदीय दलको नेता पनि स्वीकार्न प्रचण्ड तयार भएका छन् । समाजवादी मोर्चामा रहेका विप्लव र महेन्द्रराय यादव पक्षलाई समेट्नेबारेमा छलफल टुंगिसकेको छैन ।