प्रचण्ड र जनार्दनबिचको लडाईं अझै भएन साम्य, प्रदेशमा पनि हुनसक्छ लफडा
काठमाडौं – नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु भएको छ। हालै बसेको स्थायी कमिटीको बैठकको निर्णय अनुसार आज बागमती प्रदेशबाट परामर्श समितिको बैठक सुरु भएको हो।
बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा जारी छ। भोलिसम्म चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङसहित उपमहासचिवसहित प्रदेशका पदाधिकारीहरू सहभागी छन्।
बैठकअघि छलफलको विषय टुंग्याउन अध्यक्ष प्रचण्डले पदाधिकारी बैठक राखेका थिए। पदाधिकारी बैठकपछि परामर्श समितिको बैठक सुरु भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
माओवादी सत्ताबाट बारिएपछि संगठन निर्माणको तयारीको लागि श्रृंखलबद्ध बैठकमा छ। यसअघि पदाधिकारी र स्थायी कमिटी बैठक बसेर आगामी रणनीतिबारे छलफल गरेको माओवादीले परामर्श समितिको सातै प्रदेशमा बैठक बसेपछि केन्द्रीय कमिटी बैठक बस्ने तयारी गरेको छ।
परामर्श समितिको बैठकमा पनि उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटीमा पेश गरेको प्रस्तावबारे छलफल हुने जनाइएको छ। शर्माले अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझावसहित पार्टी निर्माणबारे प्रस्ताव ल्याएका थिए। जसले माओवादी वृत्तमा ठूलो तरंग ल्यायो। शर्माको प्रस्ताव छलफलमा लग्ने प्रचण्डले सहमति जनाएपछि असन्तुष्टि मत्थर भएको बताइन्छ।
तर जनार्दन र प्रचण्डले सार्वजनिक मन्चबाट प्रतिवद्दतासहित पार्टीमा कुनै विवाद नरहेको र सहमति भैसकेको भनिरहदा फेरी त्यही प्रस्ताव प्रदेशस्तरीय परामर्श समितिको बैठकमा पुन: छलफल हुने र त्यसमा प्रचण्ड आँफैले अनुमति दिएको कुरा आएपछि फेरी प्रदेशमा लफडा हुनसक्ने आकलन गरिएको छ।