रत्नपार्कको जग्गा महानगरपालिकाका मेयर शाक्यका आफन्तको नाममा !
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रत्नपार्कको जग्गा नियमविपरित आफन्तलाई भाडामा दिएको पाइएको छ । खुलामञ्च र रत्नपार्कबीचको दुईमाजु मन्दिरको जग्गा गुठी संस्थानले व्यावसायीक प्रयोजनका लागि अनधिकृत रुपमा भाडामा लगाएको पाइएको हो ।
गुठी संस्थानले भीमसेन गाउँपालिका २, गोरखा स्थायी घर भएका तीनकुने काठमाडौंमा बस्ने अमृता भट्टराईलाई २०७५ मंसिर ९ गते भाडामा दिएको हो । एक रोपनी भन्दा बढी क्षेत्रफलको यो जग्गा पाँच वर्षका लागि भाडामा दिइएको हो । पाँच वर्षपछि अवधी थप्न सकिने सम्झौतामा उल्लेख छ । ‘दुवै पक्षको सहमतिमा सम्झौता अवधी थप गर्न सकिनेछ’, सम्झौतापत्रमा लेखिएको छ ।
गुठी संस्थानले माथिको आदेश भन्दै व्यावसाय सञ्चालनका लागि जग्गा दिएको देखिन्छ । सम्झौतापत्रमा ‘सामान्य व्यावसाय सञ्चालन’ गर्न पाउने उल्लेख छ ।
सार्वजनिक खरिद ऐन अनुसार टेन्डर नगरी खरिदबिक्री वा जग्गा भाडामा लगाउनु आर्थिक अपराध हो । संस्थानका प्रवक्ता सरोज थपलियाले मन्दिर रेखदेख गरिरहेकी भट्टराईलाई तलब वृद्धिको सट्टा जग्गा भाडामा दिएको बताए ।
भट्टराईको मेयर कनेक्सन
मुलुकी देवानी (संहिता) ऐन, २०७४ अन्तर्गत सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्ति सम्बन्धी व्यवस्था अनुसार सरकारी तथा सार्वजनिक सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालय र सम्बन्धीत स्थानीय सरकारहरूको हो ।
जसअनुसार काठमाडौं महानगरपालिका २८ मा रहेको यो जग्गाको संरक्षणको जिम्मेवारी महानगरको पनि हो । तर महानगरपालिकाले खुल्लामञ्चको अवैध सटरजस्तै यो जग्गा भाडा प्रकरणलाई पनि नदेखे जस्तो गरेको छ ।
गुठी संस्थानका एक अधिकारी काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यकै पहलमा भट्टराईलाई यो जग्गा उपलब्ध गराइएको दाबी गर्छन् । उनका अनुसार, जनसेवा सामुदायिक प्रहरीमा कार्यरत पदम भट्टराईकी श्रीमती हुन्, अमृता ।
गुठी संस्थानका अधिकारीका अनुसार प्रहरी हबल्दार पदमले शाक्य जनसेवा सामुदायिक प्रहरीको अध्यक्ष भएका बेला विद्यासुन्दरसँग निकट सम्बन्ध बनाएका हुन् । ‘पदमको पत्नी भएकैले अमृता भट्टराईले मन्दिरको जग्गा पाएकी हुन्’ नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भने, ‘त्यसको पहल पनि मेयरज्यूबाटै भएको हो ।’
खुलामञ्चमा बनाइएको सटरमा सरकारले शनिबार डोजर चलाएपछि विचल्लीमा परेका एक व्यापारी भन्छन्, ‘हामीले सलामी तिरेर लिएको सटर भत्काइयो तर, छेवैको सरकारी जग्गामा पसलहरु चलिरहेको छ ।’
सम्झौतापत्रको दोस्रो बुँदा अनुसार, गुठी संस्थानले अमृता भट्टराईबाट मासिक १५ हजार रुपैयाँ भाडा लिइरहेको छ । अनलाइन खवरको सहयोगमा