सहकारी पीडितको आन्दोलनले काठमाडौं अस्तव्यस्त

आइतबार, १६ भाद्र २०८१

काठमाडौं – सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरूले काठमाडौंको शान्तिवाटीकामा भेला भएर प्रदर्शन गरेका हुन् ।

उनीहरूले सहकारी ठगि गर्ने संस्था र संस्कार अध्यक्षको तस्वीरहरू ब्यानरमा राखेर काठमाडौंको मुख्‍य सडकमा प्रदर्शन गरेका हुन् । सहकारी पीडितले आफ्नो पीडाहरू ब्यानरमा लेखेर प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘मेरो छोराछोरी पढ्ने पैसा सहकारी छ’, ‘सहकारी पीडितको घरमा भात तिहुन पाक्दैन, सुशासनको कुरा गरेर सरकार कहिल्‍यै थाक्दैन, ‘सहकारी ठगहरू मुर्दावाद, गरिबको खुन पसिनाको कमाइ सहकारीले खाइदियो लुटेर, श्राप लाग्नेछ तिमीहरूलाई निमुखाको मुखु कलेजो नखाऊ भुटेर’लगायतका ब्यानर बोकेका थिए ।

झमझम झरी परिरहँदा पनि सहकारी पीडितहरू भने काँखे बालक च्यापेर पानीमा रुझ्दै प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले एक हातमा बच्चा र अर्को हातमा ब्यानर बोकेका थिए । उनीहरुको प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त बनेको छ । शान्तिबाटिकाबाट सुरु भएको पर्दशन बागबजार, पुतलीसडक हुँदै सिंहदरबार छिर्न खोजेको थियो ।