जाल्सानको बैठक बस्दै, प्रोभाइडरसँग छलफल गर्ने
काठमाडौं – जापानीज ल्याङ्वेज स्कुल एशोसियसन अफ नेपाल (जाल्सान) को बैठक बस्दैछ । आज दिउसो १ बजे होटल हार्दिकमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने छ ।
बैठकमा जापानीज भाषा स्कुलका प्रतिनिधि, भाषा टेस्ट संचालकहरुलाई पनि बोलाइएको जाल्सानले जनाएको छ । पछिल्लो समय जापानका स्कुलहरुका प्रतिनिधिले दोहोर कमिसन लिन थालेपछि विद्यार्थी पीडित भएका छन् । साथै, जापानीज भाषा टेस्ट परीक्षा पनि विवादित छन् । नेपालमा अहिले चलिरहेका कुनै पनि भाषा टेस्ट लिने संस्था राज्यको निकायमा दर्ता भएर परीक्षा संचालन स्वीकृति लिएका छैनन् भने उनीहरुले लिने परीक्षामा समेत धाधली हुने गरेको छ ।
जापान नेपाली विद्यार्थीका लागि पहिलो रोजाईको शैक्षिक गन्तव्य हुँदा हुँदै पनि प्रोभाइडर, टेस्ट संचालक र शैक्षिक कन्सल्टेन्सीका कारण विद्यार्थी ठगीने, समस्यामा पर्ने गरेका छन् । हामीले यस विषयका सवालहरु उठाएपछि छलफल गर्नका लागि जाल्सानले बैठक बोलाएको हो ।
हामी नेपालमा दोहोरो कमिसन दिएर काम गर्ने प्रोभाइडर, चर्को सर्भिस चार्ज लिने शैक्षिक कन्सल्टेन्सीहरु र भाषा परीक्षाका नाममा हुने लुटको पर्दाफास गर्ने तयारीमा छौं । सँगसँगै विद्यार्थीबाट १ लाखभन्दा धेरै सर्भिस चार्ज लिने, विद्यार्थीलाई सर्भिस चार्ज लिएर पनि भ्याट बिल नदिने, नक्कली डकुमेन्ट बनाएबापत चर्को शुल्क लिने, प्रोसेसिङ् चार्ज भन्दै विद्यार्थी ठग्ने कन्सल्टेन्सीहरुको लिस्ट पनि सार्वजनिक गर्नेछौं ।