१० स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउँदै पोखरा महानगर

सोमबार, २४ भाद्र २०८१

काठमाडौं –  पोखरा महानगरपालिकाले १० वटा सामुदायिक स्कुलमा चिनियाँ भाषा पढाउने भएको छ । पोखराका स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउने गरी आइतबार चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौता भएको हो ।

महानगरका अनुसार अंग्रेजी भाषालाई माध्यम भाषा बनाएर पहिलो चरणमा १ वर्षसम्म १० वटा विद्यालयहरूमा चिनियाँ भाषाका थप ९अतिरिक्त० कक्षाहरू सञ्चालन हुनेछन् । चिनियाँ भाषा पढाउन १० जना चिनियाँ स्वयंसेवक शिक्षक पोखरा आइपुगिसकेको महानगरले जानकारी दिएको छ ।

सम्झौता अनुसार पार्दी माध्यमिक विद्यालय बिरौटा, बाल मन्दिर माध्यमिक विद्यालय नदीपुर, जनप्रकाश माध्यमिक विद्यालय भण्डारढिक, छोरेपाटन माध्यमिक विद्यालय छोरेपाटन, लक्ष्मी आदर्श माध्यमिक विद्यालय सिसुवा, गौरीशङ्कर माध्यमिक विद्यालय हेमजामा निशुल्क चिनियाँ भाषा पढाइ हुनेछ ।

त्यस्तै, विष्णु पादुका माध्यमिक विद्यालय हेम्जा, राष्ट्रिय माध्यमिक विद्यालय टुँडिखेल, लक्ष्मी माध्यमिक विद्यालय अघौँ र जनप्रिय माध्यमिक विद्यालय, सिमलचौरमा अतिरिक्त कक्षाका रूपमा भदौ २७ गतेदेखि निःशुल्क चाइनिज भाषाको कक्षा सञ्चालन हुने पोखरा महानगरले जनाएको छ ।

‘यसले विद्यार्थीहरूको भाषागत ज्ञानमा थप टेवा पुग्ने विश्वास गरिएको छ’, महानगरले भनेको छ, ‘भूमण्डलीकरणको पछिल्लो परिवेशमा अध्ययन, अवलोकन र पर्यटन लगायतका विभिन्न व्यवसायीक क्षेत्रहरूमा भाषागत ज्ञानको निपुर्णताले व्यक्तिगत सबलीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।’