सरकारले आगामी ४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्‍याउने

शुक्रबार, २० बैशाख २०७६

बैशाख २०, काठमाडौं– सरकारले आगामी ४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्‍याउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आगामी ४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्‍याउने विषय उल्लेख छ ।

यस्तै, ४ वर्ष भित्र सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने विषयलाई पनि सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ।

सरकारले औद्योगिकरणका लागि प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आगामी ४ वर्षभित्र सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरिने बताइन् ।