पृथ्वी राजमार्ग भत्काइदिने आँबुखैरेनी गाउँपालिकाका अध्यक्षको चेतावनी
पोखरा – तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पृथ्वी राजमार्गको कालोपत्रे सडक डोजर लगाएर भत्काइदिने चेतावनी दिएका छन्।
मंगलबार साँझसम्म चिप्लो सडक मर्मत नभए डोजर लगाएर भत्काइदिने चेतावनी उनले दिएका हुन्। आँबुखैरेनी गाउँपालिकादेखि चोकसम्मको सडक खण्ड चिप्लो भएको कारण दैनिक सवारी दुर्घटना हुने गरेको उनले बताए।
‘‘दर्जनौँ सवारी साधन दुर्घटनाको कारण अलकत्रा बग्नु हजार पटक जानकारी गराएर अनुगमन र तत्काल मर्मतको आश्वासन पाइयो । तर काम भने भएन’, उनी भन्छन्, ‘चाडपर्व नजिकिदै जाँदा सडकमा चाप पनि बढ्ने हुँदा झन् अकल्पनीय घटना नहोला भन्न सकिन्न। प्रक्रियाकै समस्या हो भने पालिकालाई जिम्मेवारी देऊ हामी आफै बनाउछौँ भन्दा पनि मिल्दैन।’
मंगलबार बेलुकासम्म पनि सम्बन्धित पक्ष मर्मत गर्न नआए डोजर लगाएर चिप्लो भाग फाल्ने उनले जानकारी गराए। दिनहुँ दुर्घटना हुँदा पनि संघीय सरकारले सडक मर्मत गर्न पहल नगरेको अध्यक्ष चुमानको आरोप छ। उनले प्रश्न गरेका छन्, ‘अब के डोजर लायो भनेर पालिकालाई मुद्दा लाउन आउनु होला ?’