साइत हेरेर घाँस काट्न जान्छन् मनाङको फू गाउँका बासिन्दा
पोखरा – मनाङको नार्पा भूमि गाउँपालिका, फू गाउँका बासिन्दा साइत हेरेर घाँस काट्ने जाने गरेका छन् । फूबाट घाँस काट्न तीन घण्टा हिडेर क्याङ जानु पर्छ । यहाँ घाँस काट्नका लागि लामाले साइत जुराउनु पर्छ । सोही साइत अनुसार गाउँलेहरू मध्यरातमै क्याङ पुग्ने गरेका छन् ।
लामाले घाँस काट्न निकालेको साइतबारे अघिल्लो दिन नै कटुवालमार्फत गाउँलेलाई सूचित गरिन्छ । फूका किसानको गोठभरि याक–चौंरी र घोडा छन् । हिउँदमा तिनै पशुलाई खुवाउन अहिले नै घाँस काटेर राख्नुपर्छ ।
पहाड र तराइतिर कुनै विशेष काम गर्नका लागि साइत हेर्ने चलन छ । तर हिमाली क्षेत्रमा घाँस काट्ने पनि विशेष काम हो । मनाङको नार्पाभूमिका नागरिकले वर्षभरिमा ३ दिनमात्रै घाँस काट्न पाउँछन् । हिउँदमा हिउँले ढाकिने भएकाले उनीहरू बेंसी झर्छन् । त्यही हिउँदमा पशु बस्तुलाई खुवाउन अहिले नै घाँस काटेर थन्क्याउने चलन छ ।
तर घाँस काट्नुअघि लामाले विशेष दिनको साइत हेर्छन् । उक्त साइतबारे कटुवालले गाउँभरिका मान्छेलाई सञ्चार गर्छन् । नारका फुर्पा ठेले लामा हिउँ परेको समयलाई सहज बनाउन घाँस काटेर राख्ने गरिएको बताउँछन् ।
घाँस काट्दा र बाली थन्क्याउँदा साइत हेर्ने चलन मनाङसँगै उत्तरी मुस्ताङ र डोल्पा तथा उत्तरी गोरखामा पनि प्रचलनमा छ । उच्च हिमाली क्षेत्रका नागरिकहरू कात्तिकदेखि चैतसम्म बेंसी झर्छन् । हिउँ पर्न कम हुन थालेपछि गाउँ उक्लिन्छन् ।