ओली नेतृत्वको सरकार ढाल्ने देउवाको चेतावनी

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढालिदिने चेतावनी दिएका छन् । बिहीबार मध्यरातीलाई ओलीलाई टेलिफोन गरेर सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई तत्काल पक्राउ गरि अनुसन्धान अघि नबढाए सरकार ढाल्ने चेतावनी दिएका हुन् ।

विश्वस्त स्रोतका अनुसार तत्काल लामिछानेलाई पक्राउ गरेर अनुसन्धान अघि नबढाए ओली नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएको बुझिएको छ । देउवाले हिजोमात्रै प्रधानमन्त्री ओलीलाई भेटेरै लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन दबाब दिएका थिए ।

तर, प्रधानमन्त्री ओलीले आनाकानी गरेको बुझिएको छ । गृहमन्त्री रमेश लेखकले लामिछानेलाई पक्राउ गर्न हिजै प्रहरीको एक टोली तयारी अवस्थामा राखेको बताईन्छ ।

यो खवर सुनेको प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले तत्काल प्रतिपक्षी दलको बैठक बोलाएर सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेमा सशक्त प्रतिवाद गर्ने पनि निर्णयसमेत गरेको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस विषयमा कुरा निकालेको र सरकारको क्रियाकलाप सही नभएको बताएका थिए । उनले बिहीबार बालुवाटारमा बसेको तीन दलको बैठकमा समेत सो कुरा उठाएको ब्रिफिङ गर्दै सरकारले यस्तै गरिरहे चुप लागेर नबस्ने बताएका छन् ।