गौतम बुद्ध विमानस्थलमा आजदेखि ४ विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्ने

शनिबार, २४ कार्तिक २०८१

रुपन्देही – आजबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चार विमान कम्पनीले उडान भर्ने भएका छन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर, फ्लाई दुबई र थाई एयर एसियाले अन्तर्राष्ट्रिय उडान भर्ने भएका हुन् ।

केही समययता उडान रोकेको जजिरा एयवरेवजले आजबाट पुन उडान सुरु गरेको छ । ०७९ जेठ २ मा जजिराले यहाँबाट पहिलो उडान भरेपनि बीचमा विभिन्न कारण देखाउँदै रोकेको थियो । शनिबार विमानले पूरै सिट क्षमतामा यात्रु ल्याएको र फर्किंदा पनि सिट पूरा भएको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो । जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ । आज नै जजिरासहित तीन विमान कम्पनीले यहाँबाट उडान भर्नेछन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो ।

साथै थाई एयर एसियाले शुक्रबार दोस्रोपटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको छ । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । कम्पनीले साताको दुई दिन (सोमबार र बिहीबार) बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको छ । गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक तिवारीका अनुसार विमानस्थलबाट पहिलोपटक आज अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेका छन् ।