शिक्षक सरुवाको बिषयलाई लिएर मेयरमाथि आक्रमण

सोमबार, ३ मंसिर २०८१

काठमाडौँ – रौतहट स्थित शिक्षक सरुवाको बिषय लिएर देवाही गोनाही नगरपालिका भवन र मेयर प्रेमलाल साहको घरमा भएको आक्रमणको घटनाको टुंगो नलाग्दै सोही विषयमा फेरि एक एक मेयरमाथि आक्रमणको प्रयास भएको छ।

जिल्लाको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालमाथि आइतबार साँझ आक्रमणको प्रयास भएको हो । शिक्षक सरुवाको बिषय लिएर आइतबार १०–१२ जनाको संख्यामा मेयर जैसवालको घरमा गएका मानिसहरू भनाभन गर्दै आक्रमणको प्रयास गरेका हुन्।

आक्रामक शैलीमा गएका उनीहरूले मेयर जैसवालको घर अगाडी तथानाम गालीगलौज गरिरहेका थिए । प्रतिबाद गरेका मेयरका छोरा शैलेश जैसवालमाथि उनीहरू धक्कामुकीसमेत गरेका छन्।

गत शुक्रबार नगर शिक्षा समितिको बैठकले ६ जना शिक्षकको सरुवा गर्ने निर्णय गरेको थियो। सोही मध्ये एक जना मावि गरुडाका शिक्षकलाई अन्य विद्यालयमा किन सरुवा गरेको भन्दै उनीहरू मेयर कन्थमणि जैसवालमाथि आक्रमण गर्न खोजेको बुझिएको छ।