सर्वसाधारणलाई जुत्ताको माला लगाउने वडाध्यक्षविरुद्ध मुद्दा
काठमाडौँ – रौतहटमा पूर्वाग्रह राखेर सर्वसाधारणलाई जुत्ताको माला लगाएर घुमाउने एक जना वडा अध्यक्षसहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ । जुत्ताको माला लगाएर सर्वसाधारण लाई घुमाउने गढीमाई नगरपालिका ९ का वडाध्यक्ष हरिश्चन्द्र सहनीसहित ४ जनामाथि ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता गरिएको हो ।
गरूडा नगरपालिका ३ मलाही बस्ने परिक्षण सहनीले माधवनारायण नगरपालिका ७ लौकाहा घर भई हाल मलाहि बस्ने श्रीराम सहनीको छोरा वर्ष १८ को राजु सहनीलाई मोटरसाईकलमा बसाई गत मंगलबार गरूडा बजारबाट घरतर्फ जाँदै गरेको थियो ।
सोही क्रममा समयमा चाँदीपुल नजिक सडक खण्डमा गढीमाई वडाध्यक्ष सहनी सहित नगरपालिका ९ बस्ने सोनेलाल सहनी, सनम सहनी र शैलेन्द्र सहनीले मोटरसाईकल रोकी विभिन्न किसिमको गाली गलौज गर्दै कुटपिट गरी परिक्षण सहनी र राजु सहनीको घाँटीमा जुत्ताको माला लगाई अपमानजनक तथा अमानविय व्यवहार गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जानेको छ ।
उक्त घटनामा संलग्न वडाध्यक्ष सहनी फरार भएको तथा अन्य तीनजना व्यक्तिहरुलाई सोही दिन पक्राउ गरीएको थियो।