प्रचण्डले भने, ‘भ्रष्टाचारविरोधी महाभियान सफल पार्न माओवादीलाई भोट दिनुहोस्’

बुधबार, १२ मंसिर २०८१

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनले आफ्नो पार्टीले उठाएका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन् । उनले माओवादीलाई जिताएर भ्रष्ट्राचार विरोधी महाअभियानलाई जनताको साथ रहेको सन्देश दिने अपिल गरेका हुन् ।

बुधबार उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउनको लागि एक भिडिओ सन्देश जारी गर्दै उपनिर्वाचनलाई अवसरको रुपमा लिन मतदातालाई आह्वान गरेका हुन् ।

उनले भनेका छन्, ‘यो उपनिर्वाचनको बिशेष अर्थ र महत्व छ । मेरो नेतृत्वको सरकारको तर्फबाट सुशासनको पक्षमा भ्रष्टाचारको विरुद्ध, सामाजिक न्यायको पक्षमा, आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ । त्यसको परिणाम देशमा एउटा सकारात्मक भाव पैदा भइराखेको छ । यो उपनिर्वाचन पनि हाम्रा लागि भ्रष्टाचारविरोध महाअभियानलाई अगाडि बढाउने नयाँ संकल्पको रुपमा लिएका छौं ।’

भ्रष्टाचार विरोधी अभियानलाई सफल बनाउन जनताको अभिमत चाहिने बताए । उनले जनता सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने अवसर पनि भएको बताए ।