दुर्गा प्रसाईँ अस्वस्थ, अस्पताल भर्ना

शुक्रबार, १४ मंसिर २०८१

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईँको स्वास्थ्यमा समस्या देखिएको छ । उनी अस्वस्थ भएपछि बिहीबार राती अस्पताल भर्ना गरिएको छ ।

उनलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको साइबर ब्यूरोका एकजना अधिकृतले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले क्याम्बोडियामा लगानी गरेको भ्रामक समाचार सम्प्रेषण गरेर सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पर्ने गरी घृणा र द्वेष फैलाउने काम गरेको भन्दै प्रहरीले प्रसाईँलाई पक्राउ गरेको थियो ।

आफूलाई सामाजिक अभियन्तासमेत बताउने प्रसाईँले क्याम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर बराबरको सेयर रहेको एउटा कार्यक्रममा बताएका थिए। त्यसपछि उनले उक्त विषय आफ्नै घरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थिए ।

त्यसपछि प्रहरीले पक्राउ गरेको थियो ।