कीर्तिपुरका माओवादी उम्मेदवारसहित ६ जनासंग निर्वाचन आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौं – निर्वाचन आयोगले उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै कीर्तिपुर नगरपालिकाका माओवादीका उम्मेदवारसहित ६ जनालाई स्पष्टीकरण सोधको छ । कीर्तिपुर नगरपालिकाका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शिवशरण महर्जनसहित ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो ।
माओवादी उम्मेदवार महर्जनसहित स्वतन्त्र उम्मेदवार राजमान मर्हजनलाई पनि आचारसंहित उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको आयोगका सहसचिव एवम प्रवक्ता निता पोखरेलले जानकारी दिएकी हुन् ।
उनका अनुसार काठमाडौं महानगरपालिका ६ मा वडा अध्यक्षका ४ जना उम्मेदवारलाई पनि स्पष्टिकरण सोधिएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रोजिना श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार मिनबहादुर मानन्धर, स्वतन्त्र उम्मेदवार पशुपती कठायत र सम शाक्यलाई पनि स्पष्टीकरण सोधिएको हो ।
बिहीबार ६ जना उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधिएकोमा ४ जनाले स्पष्टीकरण बुझाइसकेको प्रवक्ता पोखरेलले बताएकि छन् । उनका अनुसार बाँकी उम्मेदवारले स्पष्टीकरण बुझाउनेक्रम जारी रहेको छ । प्रवक्ता पोखरेलका अनुसार मौन अवधि सुरु हुन अघि नै उम्मेदवारले प्रचारप्रसारका क्रममा गाडीमा लाउड स्पिकर बजाएको, तोकिए भन्दा बढी ब्यानरसहित प्रचारप्रसार गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।