गोर्खा मिडियाको खाताबाट रविले निकिताको खातामा ३५ लाख रुपैयाँ जम्मा गरेको अर्को प्रमाण भेटियो

शनिबार, १५ मंसिर २०८१

काठमाडौँ – रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कको खाताबाट निकिता पौडेलको बैंक खातामा ३५ लाख रुपैयाँ जम्मा गरेको अर्को प्रमाण फेला परेको छ । साथै, पछिल्लो चार वर्षमा रविको ग्लोबल आइएमई र सिद्धार्थ बैंक अनि निकिताको नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकको व्यक्तिगत खातामा कूल २१ करोड ४० लाख ४२ हजार कारोबारसमेत देखिएको प्रहरीले जनाएको छ ।

जिबी राई समूहले देशभर सहकारीको नेटवर्क खडा गरी गोर्खा मिडियासहित विभिन्न निजी कम्पनीमा गैरकानुनी तवरले रकम पुर्याएको यस प्रकरणको सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले उक्त तथ्य पत्ता लगाएको हो ।

प्रहरीका अनुसार विभिन्न सहकारीबाट गोर्खा मिडियामा पुगेको करोडौँ रकम परिचालनको अधिकार पाएका रविले श्रीमती निकिता पौडेलको बैंक खातामा ३५ लाख रुपैयाँ जम्मा गरेको पाइएको छ । गोर्खा मिडियाबाट रविले निकिता पौडेलुको नाममा व्यक्तिगत चेक काटेर रकम दिएका थिए । तर, त्यसको प्रयोजनसमेत नखुलाइएको स्रोतले बताएको छ ।

गोर्खा मिडियाबाटै ससुरा उद्धव पौडेलको स्वामित्व रहेको गोपीकृष्ण मुभिजको नाममा २५ लाखको चेक काटेको संसदीय छानविन समितिले यसअघि नै खुलाइसकेको छ ।

संसदीय समितिले सहकारीबाट गोर्खा मिडियामा पुगेको ६५ करोड रविमार्फत परिचालन भएको औँल्याएको थियो । तर, प्रहरी अनुसन्धानका क्रममा पौने तीन करोड बढी अर्थात् ६७ करोड ७६ लाख परिचालन भएको पाइएको छ । यो रकम अझै बढ्न सक्ने अनुमान छ ।