४ वर्षमा निकिताको खातामा साढे २१ करोड जम्मा भएको प्रमाण भेटियो

शनिबार, २९ मंसिर २०८१

काठमाडौं – सहकारी ठगी प्रकरणमा हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिताको खातामा झन्डै साढे २१ करोड आएको प्रमाण फेला पारेको कास्की प्रहरीले जनाएको छ।  सम्पत्ति शुद्धीकरण मुद्दामा समेत अनुसन्धान जारी छ ।

सहकारी ठगी, सङ्गठित अपराधमा अनुसन्धान भइरहेको उनीमाथि सम्पत्ति शुद्धीकरणमा बलिया प्रमाण फेला परेको अधिकारीहरूले बताएका छन् । निकिताको खातामा कोरोना महामारीपछि ठुलो रकम दाखिला भएको देखिएको छ ।

स्रोतका अनुसार ४ वर्षमा ग्लोबल आईएमई र सिद्धार्थ बैंकमा रहेको रविको खाता तथा नेपाल बैंक र सिद्धार्थ बैंकमा रहेको निकिताको खातामा कुल २१ करोड ४० लाख ४२ हजार कारोबार देखिएको छ ।’ यति ठुलो परिमाणमा रकम कहाँबाट आयो र कहाँ गयो भन्ने तथ्य रविले स्थापित गर्न सकेका छैनन् ।

गत जेठमा उपप्रधान एवं गृहमन्त्री रहेको बेलामा रविले दुइटा बैंकमा गरी एक लाख १० हजार रुपैयाँ र पत्नी निकिताको विभिन्न बैंक खातामा पाँच लाख ५८ हजार रकम रहेको सार्वजनिक गरेका थिए । तर, अहिले खोजी हुँदा करोडौँकरोड रुपैयाँ बैंकमा मौजात रहेको देखिएको छ ।

स्रोतकाअनुसार पहिला बुझाएको सम्पत्ति विवरण र अहिले भेटिएको सम्पत्तिमा धेरै ठूलो अन्तर छ । यो सम्पत्तिको स्रोत देखाउन सकेनन् भने उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर्ने निश्चित छ ।’