बुबा र भाइ मार्ने मिलन पक्राउ, प्रेमिका बनिन् कारण

मंगलबार, ९ पौस २०८१

काठमाडौं – बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य पक्राउ परेका छन् । भक्तपुरको सूर्य विनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या गर्ने कूलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलन पक्राउ परेका हुन् ।

उनी मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइलाई मारेको स्वीकार गरेका छन् । उनले आत्मसमर्पण गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली आवश्यक सोधपुछका निम्ति त्यहाँ पुगेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

‘उनी नियन्त्रणमा छन्, घटना हामीले अनुमान गरेजस्तै उनीबाटै भएको स्वीकारे’, भट्टराईले भने । महाराजगन्ज वृत्तका प्रहरीले मिलनलाई बुबा र भाइ मार्नुको कारणबारे सोध्दा प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा त्यस्तो भएको बताएका थिए ।

‘उनको कुरा गराइबाट मानसिक रूपमा केही समस्या हो कि जस्तो देखिन्छ’, वृत्तका एक प्रहरी अधिकृतले भने । बुढेसकालमै भए पनि स्कुटरको लाइसेन्स बनाउन बुबा कूलप्रसाद खोटाङबाट भक्तपुर आएका थिए । मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेपछि डेरामै रहेको स्कुटी चलाएनन् । इनड्राइभबाट मोटरसाइकल मगाए । उक्त मोटरसाइकलमा सातदोबाटोसम्म पुगे ।

त्यहाँबाट फेरि अर्को इनड्राइभ गरेर कलंकी पुगे । त्यहाँ पुगेर मोबाइलको सिम फ्याँके । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार बिहान उनलाई कलंकीमा खोजिरहेको थियो । त्यहीबीच महारनगञ्ज प्रहरी वृत्तबाट अनुसन्धान टोलीले उनले आत्मसमर्पण गरेको खबर दियो । ‘हाम्रो टोलीले सोधपुछ गरेपछि आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइदिन्छौ’, एसएसपी भट्टराईले भने ।