चार वर्षअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीबिरुद्ध तथानाम बोलेको भिडियो भाइरल
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्माओलीमाथि चार वर्षअघि प्रश्न उठाउँदै बोलेको भिडियो क्लिप्स सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
उक्त भिडियोमा पौडेलले ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल बसेको उल्लेख गरेका छन् । रास्वपाका सभापति रवि लामिछानेलाई षड्यन्त्रपूर्वक सहकारी प्रकरणमा फसाउने कार्यमा प्रधानमन्त्री केपी ओली नै रहेको जिकिर गर्दै उनका समर्थकहरूले सो भिडियो भाइरल बनाइदिएका हुन्।
लामिछानेलाई अनावश्यक दुःख दिएर प्रतिशोध साँध्ने काम भएको भन्दै समर्थकहरूले विरोध गरिरहेको बेला रामचन्द्रले ओलीको प्रवृत्तिको आलोचना गरेको विषयलाई पनि समर्थकहरूले उचाल्ने काम गरेका हुन् । तर, सो भिडियो हालैको नभएर ४ वर्षअघि पौडेलले गृहजिल्ला तनहुँमा दिएको अभिव्यक्ति भएको खुलेको छ ।
कोरोनाकाल अर्थात २०७७ मंसिर १८ मा पौडेल तनहुँमा व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्घाटन गर्न पुगेका थिए भने निषेधित क्षेत्र तोडेको भन्दै केहीबेर उनलाई प्रहरीले पौडेललाई पक्राउ गरेको थियो । तीन घण्टा प्रहरीको नियन्त्रणमा परेपछि उनी तत्कालीन अवस्थामा पनि प्रधानमन्त्री रहेका ओलीको चर्को आलोचना गरेका थिए ।
त्यतिबेला कांग्रेसको वरिष्ठ नेता रहेका पौडेलले ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको मात्रै बताएका थिएनन् कम्युनिस्टहरू लोकतन्त्रवादी नहुने समेत जिकिर गरेका थिए । ‘कसले भन्यो ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसे भनेर ? ज्यान मुद्दामा बसेको हो,’ उनको भनाइ थियो, ‘कहाँबाट लोकतन्त्रका लागि बसे? रामचन्द्र पौडेलजस्तो आस्थाका लागि बसेको होइन।’
उनले थप भनेका थिए, ‘एउटा मुद्दामा झ्याप्प परिहाल्यो। जोसमा आएर झापा काण्ड घटिहाल्यो। यो लोकतन्त्रका लागि हो ? म मान्दिनँ। केपी ओली मेरा अगाडि कुरा गरूँन् ।’ उनले यस्तो बताउँदा कार्यकर्ताले ताली पड्काएको भिडियोमा सुन्न सकिन्छ ।