रवि लामिछानेसँगको विछोडले मुकुल ढकाल विक्षिप्त

बिहिबार, १८ पौस २०८१

काठमाडौँ – रविसँगको विछोडले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निकालिएका मुकुल ढकाल विक्षिप्त भएका छन्। रास्वपामा पुनरागमनको चर्चा चलिरहँदा ढकाल पनि लचिलो बन्दै गएको उनका पछिल्ला अभिव्यक्तिहरुमा विक्षिप्तता देखिएको हो ।

बुधबार समाजिक सञ्जाल फेसबुकमा उनले एकजुट भएर पार्टी बचाउनुपर्ने भन्दै लामो भावना पोखेका छन् । ‘आज केही कुरा गरौँ’ भन्दै शुरु गरेको स्टाटसमा ‘रास्वापाबाट महामन्त्रीलाई अलग बनाएपछि सभापति कमजोर हुन्छ’ भन्ने बुझेकाहरुले आफूमाथि प्रहार गरेको दावी गरिएको छ ।

केहि दिनअघि कोशी र मधेस प्रदेशका दुई सभापतिले कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेर ‘ढकाललाई पार्टी फर्काउनुपर्ने’ प्रस्ताव राखेको खबर बाहिर आएको थियो ।

‘मैले बुझाउने प्रयास गरेँ, म असफल रहेँ । मलाई कारवाहि गरे, अनि सभापतिमाथि नै प्रहार गरे’, ढकालले लेखेका छन्, ‘पार्टीलाई उग्र दक्षिपन्थी अवसरवादी विदेशी दलालहरूको कब्जामा पुर्याउने उनीहरूको योजना सफल हुँदै गएको छ ।’

अब रास्वापालाई एकजुट भएर जोगाउनुपर्ने उनको जोड छ । पार्टी निर्माणका लागि बुद्धि, पसिना, पैसा र समय खर्चेको स्मरण गर्दै लेखेका छन्, ‘साना दु:खले  आर्जेको पार्टी होइन, जोगाऔँ । फुटेर होइन, जुटेर । यदि अदालतले निर्दोष भने माफी मागौँला, नभने ? खैर, सबै बिर्सौँ तर सङ्कटको यो घडीमा पार्टी जोगाऔँ ।’

ढकालले आफूलाई सभापति लामिछानेको दुश्मन ठान्नेहरुलाई पनि सम्बोधन गरेका छन् । अघि भन्छन्, ‘रवि दाइका मित्रहरू, शुभचिन्तकहरूलाई म दुश्मन देखिएको छु होला, तर म त लामो समय बाहिर छु, भित्र भित्रै आक्रमण गरेर सकाउनेलाई कसो देख्न सक्नु भएन । प्रमाण के भन्नु होला । यो राजनीती हो , यहाँ प्रमाण अदृष्य हुन्छ ।’