कुलमानलाई अर्को सफलता, दर्ज भयो कार्यसम्पादन मुल्याङ्कनमा ९९ प्रतिशत

शुक्रबार, २६ पौस २०८१

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मुल्याङ्कनमा ९९ प्रतिशत प्राप्त गरेको दावि गरेका छन् । गत आर्थिक वर्ष २०८०÷८१ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेको विवरण अनुसार घिसिङ ९८.९९ प्रतिशत अंक प्राप्त गरेको दावि गरेका हुन् ।

०७८ साउन २५ गते मन्त्रिपरिषद्कोे निर्णयबाट घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका निम्ति दोस्रोपटक नियुक्त गरिएको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा मन्त्रालय र घिसिङबीच ०७८ माघ ५ गते प्राधिकरण सुधारका विभिन्न सूचकांकसहित कार्यसम्पादन सम्झौता भएको थियो ।

आव २०७८–७९ र २०७९–८० को कार्यसम्पादनमा उनले क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक पाएका थिए । कार्यसम्पादन सम्झौताको मूल्यांकनमा प्राप्तांकका आधारमा घिसिङले प्रोत्साहन भत्ता पाउने व्यवस्था छ ।

प्राधिकरणले गत आवमा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । आव २०७२र७३ मा एकै वर्ष प्राधिकरण आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा थियो । ०७३र७४ मा एक अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरु गरेको थियो ।

त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ । आठ वर्षअघि प्राधिकरण ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा थियो । प्राधिकरण हाल ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।

प्राधिकरणले गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२।७३ प्रतिशतमा झारेको थियो । आठ वर्षअघिसम्म प्रणालीबाट २५।७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो । आव २०७९र८० मा विद्युत् चुहावट १३।४६ प्रतिशत थियो ।

प्राधिकरणले आठ वर्षमा विद्युतीकरणमा ठूलो सफलता हासिल गरेको छ । आव २०७२–७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षअघि ८९.७ र विद्युतीकरण हाल ९९ प्रतिशत पुगेको छ । इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग वहन गर्न सक्ने क्षमतामा देखिएको छ ।

गत आवको वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् भारततर्फ निर्यात गरी प्राधिकरणले १७ अर्ब सात करोड रुपैयाँ आम्दानी गरेको थियो । गत आवमा नेपालले आयातभन्दा करिब १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरेको थियो ।