सिंहदरबारले दियो हर्क साम्पाङलाई ५ अर्ब ७२ करोडको कोशेली
काठमाडौँ – रित्तो गाग्री बोकेर काठमाडौँ छिरेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ५ अर्ब ७२ करोड बजेट सुनिश्चितता प्राप्त गरेका छन् । खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानी समस्याका लागि बजेट सुनिश्चितता गर्ने आश्वासन दिएका छन् ।
झण्डै डेढ घण्टा कुरेर मन्त्री यादवलाई भेटेका मेयर राईले छलफल सकारात्मक भएको बताए । मन्त्रालयबाट निस्कँदै गर्दा सञ्चारकर्मीसँग भने, ‘मैले खानेपानीको लागि बजेट सुनिश्चित गरिदिनु पर्यो भनेँ, उहाँहरुले पनि हामी यस विषयमा संवेदनशील छौँ भन्नुभयो । पाँच अर्ब ७२ करोड विनियोजन गछौँ भन्नुभएको छ ।’
यसअघि मेयर राई मन्त्रालय छिर्दा सुरक्षाकर्मीले गेटमै उनको रित्तो गाग्री खोसेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट्ने योजनासहित काठमाडौँ आएका उनले भेट नपाएर निरास भएका छन् ।